चितवन विशेष
नारायणगढको एभरेष्ट सहकारीको १२ औं साधारण सभा

चितवन, पुस २१-
नारायणगढमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन शत्रमा सहकारीकर्मीहरुले महानगर क्षेत्रमा एउटा सहकारीमा कम्तिमा पाँच हजार सदस्य हुनुपर्नेमा जोड दिए । एक सहकारी एकव्यक्ति हुनुपर्ने नियमको पूर्ण पालना गर्नुपर्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिडेटका अध्यक्ष परितोष पौड्यालले बताए ।
पौड्यालले बचत तथा ऋण सहकारी संस्थाहरु विशुद्धरुपमा सदस्यहरुबीच वित्तीय कारोबार गर्ने संस्था भएकाले गुणस्तरियता कायम गर्दै दिगो सहकारी निर्माणमा अगाडि बढ्न आग्रह गरे । सहकारी अभियानको जागरण, विकास, व्यवसायीकरण, गुणस्तर सुनिश्चितता र सञ्जाल व्यवस्थापनका कार्यमा नेफ्स्कून लागिपरेको उल्लेख गर्दै पौड्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डमा सहकारी आवद्ध हुनुपर्ने बताए ।
सोही अवसरमा एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बालगोपाल चुकेले १२ वर्ष अगाडि २५ जनाबाट सुरु भएको सहकारी आजको अवस्थामा आउँदा तीन हजार भन्दा बढी सदस्य भएको ठूलो सहकारी बन्न सफल भएको बताए । संस्थाको सुरुआतको शेयर पूँजि १२ लाख ५० हजार रहेकोमा हालसम्म आइपुग्दा १० करोड रुपैयाँ शेयर पूँजि पुगेको चुकेको भनाइ छ ।
आगामी वर्षभित्र संस्थाको कूल सम्पत्ति ४५ करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको चुकेले जानकारी दिए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थासँग सहकार्य गर्दै नियमित रक्तदान, बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुबीच फुटबल, मधुमेह परीक्षण, वृद्धाश्रममा भोजन सेवा, मानव सेवा आश्रममा भोजन सेवा साथै अक्षयकोषमा रकम सहयोग लगायतका सामाजिक कामहरु गर्दै आएको चुकेले बताए । साधारणसभाका क्रममा संस्थाले नियमित रक्तदाता, सर्वोत्कृष्ट सदस्य, सर्वाधिक शेयर खरिद सदस्य, ज्येष्ठ शेयर सदस्य, कनिष्ठ शेयर सदस्य, सर्वाधिक खुत्रुके बचत सदस्यलगायतका विधामा आफ्ना शेयर सदस्यलाई सम्मान गरेको छ ।
सो क्रममा संस्थाका सचिव मदनप्रसाद पौडेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कुन्दनकुमार पियाले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष चन्द्रमित्र पण्डित, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष हरिश्चन्द्र सुवेदी, सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष थीरप्रसाद धिताललगायतले मन्तव्य राखेका थिए । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बालगोपाल चुकेको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक सदस्य संगीता अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् ।
























