चितवन विशेष

धार्मिक स्थलको भ्रमणमा भरतपुरका साइकलयात्री जोडी

Banner

निशा श्रेष्ठ

चितवन, पुस २१-

भरतपुर महानगरपालिका–१ निवासी रुक्मिणी सापकोटा घिमिरे र केशव घिमिरे चितवनमा साइकलयात्री दम्पतीका रुपमा सबैले चिनेको जोडी हो । यो जोडीले साइकलबाटै चितवनको अग्लो पहाड सिराइचुली, उपरदाङगढी मुक्तिनाथ, काठमाडौं , सिन्धुली, जनकपुरधामलगायतका विभिन्न ठाउँ भ्रमण गरिसकेका छन् ।

 ‘नेपाल भ्रमण वर्ष २०२० – धार्मिक पर्यटन विकासको लागि सहिष्णुता’नारा बोकेर लुम्बिनीको भ्रमणमा भोलि मंगलबार निस्किने भएका छन् । भोलि पुस २२ देखि २४ गतेसम्म साइकलयात्रामा निस्किन लागेको साइकलयात्री रुक्मिणी सापकोटाले  जानकारी दिइन् ।

भ्रमण वर्षको प्रवद्र्धन तथा साइकल चढ्दा वातवरणमा एवं मानव स्वास्थ्यमा पुग्ने फाइदा र सरसफाइबारेमा जानकारी दिने हिसाबले यात्रा सुरु गर्न लागेको उनले बताइन् । उनीहरु साइकल यात्रामा पुगेको गन्तव्यमा त्यहाँ वरपरको फोहोर टिपेर सरसफाई सन्देश पनि दिने गरेका छन । यसपालीको साइकलयात्रामा पनि सो अभियानलाई पनि निरन्तरता दिने घिमिरेले बताइन ।

उनीहरु भोलि नारायणगढबाट यात्रा सुरु गरी देवघाटमा पुगि पूजाआजा गरी यात्रा थाल्नेछन् । यससँगै भरतपुर लिलाचोकमा रहेको मस्जिदले पनि उनीहरुलाई बिदाई गर्ने कार्यक्रम रहेको छ । उनीहरु लुम्बिनी भ्रमणको क्रममा बाटोमा पर्ने मन्दिर, मस्जिद, चर्चलगायतका धार्मिक स्थलहरुमा पनि भ्रमण गर्ने कार्यक्रम रहेको घिमिरेले जानकारी दिइन् । विगत १० वर्षदेखि साइकल चलाउँदै आएका उनीहरु दैनिक आवतजावतमा पनि साइकल नै प्रयोग गर्दै आइरहेका छन् । यी साइकल यात्री जोडीको दुई छोरा छन् । जेठो छोरा १६ वर्षको भइसक्यो भने कान्छो भर्खर १२ वर्ष पुगेको साइकल यात्री रुक्मिणीले बताइन् ।शिक्षिका समेत रहेकी उनले साइकल यात्रामा निस्कन विधालय एवं घरपरिवारको ठुलो साथ रहेको बताइन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>