चितवन विशेष

भरतपुरमा रेनु दाहालको अढाई वर्षः यी हुन् महत्वपूर्ण काम

Banner

चितवन, पुस १३-

भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएकी रेनु दाहालको अवधि अढाई वर्ष पूरा भएको छ ।

२० वर्षपछि जनप्रतिनिधि पाएको भरतपुर महानगरमा रेनु दाहालको नेतृत्व आएपछि तीव्रताका साथ विभिन्न कामहरु अघि बढेका छन् । अढाइ वर्षमा धेरै विकासका कामहरु तीव्ररुपमा भइरहेका छन् भने एक दर्जन गौरवका आयोजनाहरु अन्तिम चरणमा पुगेका छन् ।

महानगरको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, रिंङ रोड र लिंकरोड, भरतपुर अस्पतालको कुरुवा घर, भरतपुर–२२ को अम्ब्रेला पार्क, भरतपुर १९ को रानीपोखरी, भरतपुर–१३ को लक्ष्मीनारायण मन्दिर र पार्क निर्माण, भरतपुर–२७ को मुसहर बस्ती निर्माण, भरतपुर विमानस्थलको विस्तारलगायत एक दर्जन गौरवका आयोजनाहरु यतिबेला धमाधम निर्माण भइरहेको छ । केही आयोजनाहरु अन्तिम चरणमा पुगेका छन् ।

भरतपुर महानगरमा अन्तिम चरणमा पुगेका आयोजनाहरुमा भरतपुर अस्पतालको कुरुवा घर हो । जसको ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । ‘भरतपुर अस्पतालमा आउने बिरामी कुरूवाका लागि अलग्गै सुविधासम्पन्न भवन बनिरहेको छ । अस्पतालभित्र बनिरहेको बिरामी कुरूवा घर एवम् पूर्वाधार निर्माणले यतिबेला तीव्रता पाइरहेको छ’ महानगर प्रमुख रेनु दाहालले भनिन् ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले भरतपुर अस्पतालमा बिरामी कुरूवा घर बनाउन ठेक्का लगाएको ११ महिनामा ८० प्रतिशत काम सम्पन्न भएको छ । कुरूवा घर साढे तीन तलाको छ । सो आयोजनाका अनुसार २०७५ साल पुस ९ गते सम्झौता भएको दिनदेखि नै निर्माणको काम अघि बढेको थियो । २०७५ साल माघ १७ गते तत्कालीन सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले कुरूवा घरको शिलान्यास गरेका थिए ।

भ्याटसहित ६ करोड ८१ लाख ३० हजार ३०८ रूपैयाँ ६१ पैसामा कुरूवा घर निर्माणका लागि सम्झौता भएको सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ । कुल लागत अनुमान १० करोड ४८ लाख २६ हजार ७७० रूपैयाँ ९७ पैसा गरिएको छ । महानगरलाई हेर्दा देखिने काम भनेको सडकको कालोपत्रे हो । महानगरका प्रमुख दाहालले मोज्याक टायलसहित हिसाब गर्दा झन्डै २०० किलोमिटर कालोपत्रे भएको बताइन् । ‘महानगरका कुनै वडामा कतै पनि कालोपत्रे देख्न सक्ने अवस्था थिएन, तर अहिले जुन गाउँमा गए पनि कालोपत्रे देख्न सकिन्छ’ महानगर प्रमुख दाहालको भनाइ छ ।

‘अढाइ वर्षमा सोचेजसरी विकासका कामहरु भइरहेका छन्, देशभरका पाँच महानगरभित्र भइरहेका विकासको कामको तुलनामा यो अढाइ वर्षमा भरतपुरको विकास तीव्ररुपमा भइरहेको छ’ महानगर प्रमुख दाहालले भनिन् । उनका अनुसार भरतपुर महानगरमा अढाइ वर्षमा ठूला आयोजनाहरु छन्, जसलाई सम्पन्न गर्न केही समय लाग्छ ।

क्रिकेट रंगशालादेखि मुसहर बस्ती उठाउनेसम्मका कामहरु भइरहेका छन्’ प्रमुख दाहालले भनिन्, ‘पार्क बनाउनेदेखि लिंकरोड र रिङरोडका कामहरु भइरहेका छन्, स्थलगत अवलोकन गरी समयमै काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छौँ ।’ अढाइ वर्षमा सबैभन्दा धेरै काम भएको सडक कालोपत्रे नै हो । महानगरका जुन गाउँमा जाँदा पनि कालोपत्रे देख्न पाइन्छ । यो महानगरको अढाइ वर्षको सबैभन्दा ठूलो उपलव्धि हो ।

भरतपुर महानगर पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा भएको छ । महानगर प्रमुख दाहाल नै रातभर सडकमा कुदेर पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको हो । महानगरले फलफूल तथा तरकारी बजार क्षेत्रपुरमा सारेको छ । लायन्सचोकको फलफूल बजारलाई क्षेत्रपुरमा सारेर महानगरीय फलफूल तथा तरकारी बजार सञ्चालनमा ल्याएको हो । विषादी प्रयोगशालासहितको फलफूल तथा तरकारी बजार नगरको शोभा बनेको महानगर प्रमुख दाहालले बताइन् ।

एक दसकसम्म नबनेको चौबीसकोठी–चनौली सडक यतिबेला कालोपत्रे भएको छ । महानगरले अढाई वर्षमा गरेको अर्को काम नारायणगढ बजारको फुटपाथ हटाउनु हो । फुटपाथका नाङ्लो पसल हटाएर महानगरले पैदल यात्रामा हिँड्नेहरुलाई सहज बनाएको छ ।

तीन पांग्रे (अटो रिक्सा) लाई मुख्य राजमार्गमा रोक लगाएर स्मार्ट सिटीको अवधारणालाई महानगरले साकार पार्दै लगेको प्रमुख दाहालले बताइन् । ‘राजमार्गमा अटो रिक्सा चल्दा धेरै दुर्घटनाहरु भएका थिए । राजमार्गमा अटो रिक्सा चल्न रोक लगाएर स्मार्ट सिटीको अवधारणाको विकास साकार पार्ने काम गरिरहेको छ’ उनले भनिन् ।

अढाइ वर्षको अवधिमा सवारी आवागमनलाई व्यवस्थित गर्न विभिन्न २० स्थानमा व्यवस्थित ट्राफिक आइल्यान्ड राखिएको छ । भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाएको छ । क्यान्सर अस्पतालको स्तरोन्नति गरिएको छ । लक्ष्यअनुसारको राजस्व उठाइएको छ । खानेपानीको विस्तार गरिएको छ । १८ वटा वडाहरुमा अप्टिकल फाइबर बिच्छाइएको छ । प्रविधिमैत्री वडा कार्यालय बनाइएको छ । दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदान छ । कृषिको मल, बीउमा अनुदान छ । सडक कालोपत्रे भएका छन् । सडकहरुमा मोज्याक टायल बिछ्याइएको छ । ज्येष्ठ नागरिकले उपचारमा छुट पाएका छन् । महिलाले भरतपुर अस्पतालमा निःशुल्क टिकट पाएका छन् ।

‘अढाई वर्षको छोटो अवधिमा सकेसम्म धेरैभन्दा धेरै कामहरु गरेका छौँ, अढाई वर्षमा भएको यहाँको विकास अन्त भएकै छैन, यो ठोकुवा गर्न सकिन्छ’ प्रमुख दाहालले भनिन् ।

यस्तै, अढाइ वर्षमा शिक्षातर्फ रामपुरमा इन्जिनियरिङ क्याम्पस सञ्चालनमा ल्याइन्, भरतपुर १४ मा प्रहरी विद्यालय खोल्न महानगर सफल भएको छ । पर्यटनतर्फ पटिहानीलाई देशकै १०० गन्तव्यभित्र पार्न र मेघौलीलाई प्रदेशको एक नम्बर गन्तव्यमा ल्याउन पनि महानगर सफल भएको छ ।

के के बन्दै छ महानगरमा ?

भरतपुर महानगरका ठूला आयोजनाहरु यतिबेला निर्माणको क्रममा छन् । ‘गौरवका ठूला आयोजनाहरु अढाइ वर्षको अवधिमा पूरा हुन सक्दैनन्, धेरै निर्माणको चरणमा छन्, केही अन्तिम चरणमा पुगेको छ’ महानगरकी प्रमुख रेनु दाहालले भनिन् । महानगरको गौरवको आयोजना देवघाटमा बन्दै गरेको विद्युतीय शवदाह गृह हो । यो निर्माणको क्रममा छ ।  भरतपुर १९ को रानीपोखरी ताल तथा पार्क निर्माण, भरतपुर २७ मा मुसहर बस्ती निर्माण, भरतपुर २२ मा अम्ब्रेला पार्क, भरतपुर २४ मा आयुर्वेदिक अस्पताल, भरतपुर ६ को लक्ष्मीनारायण मन्दिर र पार्क निर्माण महानगरको लिंकरोड, रिङरोडलगायतका ठूला आयोजनाहरु निर्माणले गति लिएको भरतपुर महानगरले जनाएको छ । यस्तै, राप्ती र नारायणी तटबन्धको काम, भरतपुरको चार लेनको बाइपास सडक पनि यतिबेला निर्माणको क्रममा रहेको छ । नारायणगढको पुरानो सव्जीमण्डीमा १३ तले बहुउद्देश्यीय भवन डीपीआर भइसकेको छ ।

जिल्ला समन्वय समितिको पछाडि बन्ने भनिएको सिटीहलको डीपीआर सकिएको छ । यसको पनि वातावरणीय प्रभाव मूल्यांकन सकिएको महानगरले जनाएको छ । फागुनभित्र टेन्डर निकालिने महानगरले जनाएको छ । ल्याण्डफिल साइटको लागि कोरियन कम्पनी सुधोकनसँग एमओई सम्पन्न भइसकेको छ । पुलचोकदेखि गोन्द्राङसम्मको छ लेनको लागि यसको डीपीआरको काम भइरहेको छ । भरतपुर विमानस्थल विस्तारको काम अगाडि बढेको छ । केन्द्रबाट एक अध्ययन टोलीले भरतपुर विमानस्थललाई विस्तार गर्न अध्ययन भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>