चितवन विशेष
भरतपुर महानगरको फछर्यौट हुन बाँकी बेरुजु ९७ करोड बढी

चितवन, पुस १३-
भरतपुर महानगर प्रमुख रेनु दाहालले आर्थिक वर्ष २०७६\२०७७ को नीति तथा कार्यक्रम एवम् बजेट कार्यान्वयनको समीक्षात्मक प्रस्तुति गरेकी छन् ।
नगर प्रमुख दाहालले चालु आर्थिक वर्षको लागि जनसहभागिता, घरजग्गा रजिस्ट्रेशन र अन्य कर तथा गैरकरसमेत गरी एक अर्ब ११ करोड ५० लाख आन्तरिक आयको प्रक्षेपण गरेकी थिइन् । जनसहभागिता २२ करोड, घरजग्गा रजिस्ट्रेसन ४० करोड र अन्य कर तथा गैरकर राजस्व ४९ करोड ५० लाख (नदीजन्य पदार्थ समेत) प्रक्षेपण गरिएको छ ।
गत आर्थिक वर्षको साउनदेखि मंसिरसम्म कुल राजस्व १८ करोड ११ लाख (घरजग्गा रजिस्ट्रेसन तीन करोड १५ लाख ८८ हजार समेत) उठेकोमा यस वर्ष १९ करोड ८ लाख (घरजग्गा रजिस्ट्रेसन बाहेक) उठेको छ । यो गत आर्थिक वर्षको कुल राजस्व भन्दा ९ प्रतिशतले बढी हो ।
आर्थिक प्रशासन तर्फः चालु आर्थिक वर्ष २०७६ र ०७७ को कुल बजेट तीन अर्ब ३७ करोड ३१ लाख १७ हजार रहेकोमा चालुतर्फ कुल एक अर्ब ५७ करोड २३ लाख रहेको छ । प्रथम चौमासिकसम्ममा भरतपुर महानगरपालिकाको समग्र चालु खर्चतर्फ ३३ करोड ३२ लाख दुई हजार अर्थात् २२ प्रतिशत रहेको छ । पूँजिगत तर्फ एक अर्ब ८० करोड ७ लाख ७९ हजार रकम विनियोजन भएकोमा खर्च २६ करोड ८६ लाख ९० हजार अर्थात १५ प्रतिशत खर्च भएको छ । गत आर्थिक वर्षमा २०७५ र ०७६ को प्रथम चौमासिकसम्ममा चालुतर्फ १९ प्रतिशत र पूँजिगत तर्फ १६ प्रतिशत खर्च रहेको थियो । यस आर्थिक वर्ष खर्च भएको रकमको ठूलो हिस्सा गत आर्थिक वर्षको योजनाको भुक्तानी दिन बाँकी रकम रहेको महानगरले जनाएको छ ।

आम्दानीतर्फ संघीय सरकारको राजश्व वाडँफाँडबाट कुल रकम ३४ करोड ५८ लाख २३ हजार प्रक्षेपण गरिएकोमा मंसिर मसान्तसम्ममा जम्मा रकम तीन करोड २० लाख ९३ हजार प्राप्त भएको छ भने समानीकरण एवम् सशर्त अनुदानको दोस्रो किस्तासम्म ६५ करोड १३ लाख २५ हजार गरी कुल ६८ करोड ३४ लाख १८ हजार निकासा भएको छ । प्रदेशतर्फ राजश्व बाँडफाँडबाट कुल रकम १८ करोड ६७ लाख ४८ हजार प्रक्षेपण गरिएकोमा मंसिर मसान्तसम्ममा कुनै पनि रकम प्राप्त नभएको अवस्था छ । आन्तरिक आयतर्फ जम्मा रकम ८० करोड प्रक्षेपण गरेकोमा मंसिर मसान्तसम्म कुल रकम १९ करोड ८ लाख उठेको छ ।
आर्थिक वर्ष २०७३\७४ सम्मको कुल बेरुजु ६६ करोड ८९ लाख रुपैयाँ रहेकोमा हालसम्म कुनै फर्छ्यौट नभएको, आव २०७४ र ७५ को लेखा परीक्षण प्रतिवेदनले औँल्याएको बेरुजुको कुल रकम ३७ करोड मध्ये ३० करोड फर्छ्यौट भइसकेको र यस आवमा औल्याएको प्रारम्भिक बेरुजु मध्ये २२ करोड ७८ लाख लेखापरीक्षणको क्रममा फछ्यौट भएको छ र यो वर्षको २४ करोड र आव २०७४ र २०७५ को बाँकी सात करोड समेत गरी ३१ करोड रुपैयाँ र आव २०७३ र ०७४ को ६६ करोड ८९ लाख बेरुजु रकम फर्छ्यौटको लागि ३५ दिनभित्र सम्परीक्षण गर्ने गरी काम भइरहेको छ ।
























