चितवन विशेष

हात्ती पेन्टिङको उपाधि इच्छाकलीलाई

Banner

चितवन,पुस १२-

चितवनको सौराहामा जारी १६ औं चितवन हात्ती महोत्सव अन्तर्गत हात्ती पेन्टिङ प्रतियोगिताको उपाधि इच्छाकलीले जितेको छ । आज सम्पन्न प्रतियोगितामा चार प्रतिसपर्धीलाई पछाडी पार्दै इच्छाकलीले उपाधि जितेको हो ।

प्रतियोगितामा जयन्तीकली दोस्रो र बबिकिङकली तेस्रो भएका छन् । पाँच हात्तीले प्रतियोगितामा सहभागि जनाएका थिए । हात्तीको जिउमा बनाइएको पेन्टिङसहितको चित्र, सरसफाई, माउतेको सरसफाई, हात्तीको चाल र अनुशासन लगाएतलाई आधार मानेर उत्कृष्ट घोषणा गरिएको क्षेत्रिय होटल संघ चितवन सौराहाका उपाध्यक्ष एवं हात्ती महोत्वस खेल संयोजक अन्जन कुमार पाण्डेले जानकारी दिनुभयो । प्रतियोगिताका तीनजना निर्णयकले विजेता घोषणा गरेको उहाँले बताउनुभयो ।

महोत्सवमा आजै खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका विच मैत्रीपूर्ण हात्तीपोलो खेल खेलिएको छ । भोली शनिवार हात्ती सुन्दरी प्रतियोगिता र छावाहरु विचको फुटबल प्रतियोगिताका साथै सास्कृतिक कार्यक्रम आयोजना हुँदैछ ।

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा सुरु महोत्सवलाई महत्वका साथ लिइएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा १८ गतेसम्म बाघमारा सामुदायीक वनको चौरमा महोत्सब सञ्चालन हुनेछ । यसबर्षको महोत्सवको नारा ‘हात्ती मेरो साथी’ भन्ने तय गरिएको छ । लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिनुका साथै महोत्सबमा हात्तीसँग सम्बन्धित गतिविधि समावेश भएका छन् ।

महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती फास्टवाक प्रतियोगिता, हात्तीका छावाहरुको रोमाञ्चकारी फूटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीपोलो, हात्ती पेन्टिङ प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने हात्ती महोत्सवका संयोजक एवं क्षेत्रीय होटल संघका वरिष्ठ उपाध्यक्ष राममणि खनालले जानकारी दिनुभयो । भ्रमण वर्षकै कारण यसअघि हटाइएको टाँगादौड, गाडादौड र डुँगादौडलाई यसवर्ष फेरि समावेश गरिएको छ । महोत्सवको समयावधि लम्बिएकाले ती खेलहरुलाई पुनः समावेश गरिएको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले बताउनुभयो ।

भ्रमण वर्षलाई लक्षित गर्दै यसपालिको महोत्सवको समयावधि थप गरिएको छ । सौराहामा भ्रमणको शुभारम्भका लागि यसवर्ष ४ दिन समय थपिएको क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । प्रदेश नम्वर ३ सरकारले भ्रमण बर्षको सुभारम्भ सोराहाबाट गर्दैछ । यसअघि पुस ११ देखि १५ गतेसम्म महोत्सव हँुदै आएको थियो । तर, यसवर्ष पुष १० देखि १८ गतेसम्म लम्ब्याइएको हो ।

तस्विरः कोमल भगत

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>