चितवन विशेष
ल्होसारमा बिदा नदिएको भन्दै चितवनका गुरुङ समुदाय आन्दोलित, पहिचानमाथि प्रहार भएको आरोप

निशा श्रेष्ठ
चितवन, पुस ८
तमु ल्होसारको दिन सरकारले दिँदै आएको सार्वजनिक बिदा कटौती भएपछि चितवनका गुरुङ समुदाय आन्दोलित भएका छन् ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को तमु ल्होसार पर्व मूल समारोह समितिले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बिदा कटौतीको विरोधस्वरुप विभिन्न कार्यक्रमको घोषणा गरिएको हो । गुरुङ समुदायले खुसी साट्ने ल्होसार पर्वकै दिन चितवनमा सरकारलाई ध्यानाकर्षण एवम् विरोधका कार्यक्रम गरिने समितिले जनाएको छ ।
कार्यक्रमका संयोजक गणेशबहादुर गुरुङले समृद्धिको बहानामा सांस्कृतिक चेतानाबिहीन भएर सरकारले विभेदकारी नीति अवलम्बन गरेको आरोप लगाए । उनले भने, ‘आदिवासी जनजातिहरुको पहिचान र संस्कृतिमाथि सरकारले ठाडो प्रहार गरेको छ ।’ पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले नेपालको राष्ट्रिय गान ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ वाक्यांशको भावलाई आत्मसात नगरेको पनि गुनासो गरे ।
केन्द्रदेखि नै विरोधका कार्यक्रमहरु भइरहेको बताउँदै संयोजक गुरुङले चितवनमा पनि पुस ६ गतेबाट नै विविध कार्यक्रम गरिरहेको बताए । पुस ६ गते तमु ल्होसारमा सार्वजनिक बिदा दबाबका लागि शान्तिपूर्ण दुई घण्टे वृहत् प्लेकार्ड प्रर्दशन गरिएको थियो । यस्तै पुस १५ गतेसम्म खुला रक्तदान, निःशुल्क स्वाथ्य परीक्षण, छात्रवृति वितरण, सरोकारवालासँग छलफल एवम् चियापान, विभिन्न सम्मानका कार्यक्रम एवम् विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको संयोजक गुरुङले बताए ।
























