चितवन विशेष
शिक्षक दरबन्दी थपको माग गर्दै वीरेन्द्र क्याम्पसमा नेविसंघको प्रदर्शन

चितवन, पुस ८-
नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पसले क्याम्पसमा तत्काल शिक्षक दरबन्दी थप गर्न माग गर्दै विरोध जनाएको छ ।
विरोधका लागि मंगलबार नेविसंघले क्याम्पसमा विरोधसभा गरेको थियो । क्याम्पसमा शिक्षक अपुग भएका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै संघ आन्दोलित बनेको हो । क्याम्पसले अपुग शिक्षक दरबन्दीमा १७ जनाको आवेदन आव्हान गरेको थियो । सो दरबन्दीमा लगभग एक सय जनाको आवेदन परेको थियो । शिक्षक छनोट प्रक्रिया सुरु हुनु अघि अन्य विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका थिए । सोको विरोध गर्दै नेविसंघले आन्दोलन गरेको हो ।
विद्यार्थीलाई शिक्षकको आवश्यकता भएको भए पनि विभिन्न राजनीतिक दलका भातृ संगठनले भागबण्डाका नाममा क्याम्पस प्रशासनमा ताला लगाएको नेविसंघको आरोप छ । शिक्षक नियुक्तिका क्रममा राजनीतिक भागबण्डा गर्न नहुने भन्दै आन्दोलित भएको नेविसंघले जनाएको छ ।
विरोध सभामा नेविसंघ जिल्ला उपाध्यक्ष एवम् इकाइ अध्यक्ष अनमोल अधिकारीले विद्यार्थीको हकहितका लागि विद्यार्थी संगठन आवश्यक देखिए पनि अहिले क्याम्पसमा शिक्षक नियुक्तीसँगै अन्य काममा समेत भागबण्डाको राजनिति गर्ने थलो बनाउन नहुने बताए । शिक्षक नियुक्तिका विषयमा गरिएको राजनीति रोकिनु जरुरी रहेको उनको भनाइ थियो । क्याम्पसमा शिक्षक अभावका कारण शैक्षिक गुणस्तर खस्किँदै गएको अवस्थामा गरिएको यस्तो कार्यले विद्यार्थीको भविष्य अन्योलमा पर्ने नेविसंघको आरोप छ । यस्तै नेविसंघले विरोधका कार्यक्रमअन्तर्गत भोलि रकम संकलन गरी शिक्षक नियुक्त गर्न दवाब दिने भएका छन् । अन्य संगठनहरुले शिक्षक नियुक्ती रोकेको सन्दर्भमा नेविसंघले शिक्षकलाई तलब भक्ता उपलव्ध गराउनका लागि रकम संकलन गर्न लागेको हो ।
























