चितवन विशेष

सुकुमबासीलाई लालपुर्जा वितरण चितवनबाट: मन्त्री अर्याल

Banner

चितवन, पुस ५-

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चितवनको रत्ननगरबाटै सुकुमबासीलाई लालपुर्जा वितरण सुरु गर्ने बताएकी छन् ।

रत्ननगर नगरपालिकाले गरेको स्वागत तथा छलफल कार्यक्रममा शनिबार मन्त्री अर्यालले रत्ननगरले सुकुमबासीको तथ्याङ्क संकलनको काम गरिसकेकाले लालपुर्जा वितरणको काम सुरु गर्ने बताइन् । उनले सुकुमबासी तथा भूमिहिनहरुले अहिले प्रयोग गर्दै आइरहेको जग्गाकै लालपुर्जा उनीहरुलाई वितरण गरिने जानकारी दिइन् । उनले भनिन्, ‘वनको एउटा रुखसमेत काटिँदैन । केही तत्वहरुले सुकुमबासीलाई उचालेर सदनमा विरोध गर्दा समेत ऐन पारित भइरहेको भन्दै उनले वर्तमान सरकारलेनै सुकुमबासीलाई लालपुर्जा दिने दाबी गरिन् ।

रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गरेकोमा पशंसा गर्दै मन्त्री अर्यालले सुकुमबासीको पूर्ण विवरणसमेत उतारिसकेकाले यहीबाटै पुर्जा वितरण गर्ने बताइन् । ३ नम्बर प्रदेशका सांसद कृष्णप्रसाद खनालले चितवन भूमिहिन, सुकुमवासी र अव्यवस्थितहरुको बाहुल्यता रहेको क्षेत्र भएकाले यही जिल्लाबाट पुर्जा वितरणको काम सुरु गर्न मन्त्री अर्यालको ध्यानाकर्षण गराए । बाढी र सुकुमबासीको नाममा राजनीति गरेको भन्दै अब पुर्जा वितरण नगरे जनताले माफी नदिने सांसद खनालको भनाइ थियो ।

कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले रत्ननगरका सुकुमबासीहरुले लालपुर्जा सिरानीमा राखेर सुत्ने दिन कुरिरहेको बताए । रत्ननगरमा नगरपालिका र विभिन्न संघसंस्थाको सहयोगमा सुकुमबासी, भूमिहिनहरुका लागि करिब ८० घर निर्माण गरिसकेको मेयर वनले सुकुमबासी समस्या सधैको लागि अन्त्य हुने गरी काम गरिने बताए ।

भावी सन्ततीको लागि सार्वजनिक जग्गा संरक्षण गरिरहेको भन्दै मेयर वनले कसैलाई पनि सार्वजनिक जग्गा हड्प्न नदिने प्रतिबद्धता जनाए । उनले दुई वर्षको अवधिमा नगरपालिकाले करिब ४० बिघा सार्वजनिक जग्गा संरक्षण गरिसकेको जानकारी दिए । कार्यक्रममा उपमेयर विमला दुवाडीले नगरपालिकाले संरक्षण गरेको सार्वजनिक जग्गालाई सार्वजनिक महत्वका पूर्वाधार निर्माण गरिने बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>