चितवन विशेष
चितवनमा सवारी दुर्घटना भयाबह,ट्राफिक जनशक्ति थप्न सरोकारवालाको माग

निशा श्रेष्ठ
चितवन, पुस ३-
पछिल्लो समयमा चितवनका विभिन्न स्थानमा सडक दुर्घटना बढिरहेकोले ज्यान गुमाउनेको संख्यामा वृद्धि भएको छ ।
चितवनका मुख्य सडक भन्दा भित्री सडकमा बढी दुर्घटना हुने गरेको प्रहरीको तथ्याङ्क छ । आर्थिक वर्ष २०७६\७७ को साउनयता भित्री सडकमा ४६ वटा सडक दुर्घटना भएका छन् । जसमा परी २६ जनाले ज्यान गुमाएका छन् भने ५९ जना धाइते भएका छन् ।
साघुँरो सडक, ट्राफिक प्रहरीको निरीक्षणको कमी जस्ता समस्याले सडकमा दुर्घटना बढिरहेको आज भरतपुरमा आयोजित सवारी दुर्घटना न्यूनीकरण सम्बन्धमा सरोकारवालासँगको छलफलमा बताइएको छ । जिल्ला प्रशासन कार्यलय चितवन, जिल्ला प्रहरी कार्यालय चितवन, ट्राफिक प्रहरी कार्यालय चितवनको आयोजनामा भएको सो कार्यक्रममा चितवनका जिल्ला ट्राफिक प्रमुख चन्द्रकुमार गिरीले प्रस्तुत गरेको तथ्याङ्कमा मुख्य राजमार्ग भन्दा भित्री सडकमा दुर्घटना बढेको देखिएको हो । साउनयता पूर्वपश्चिम लोकमार्ग केन्द्रीय बसपार्कदेखि लोथरसम्म ३६ वटा सडक दुर्घटनाबाट १४ जनाले ज्यान गुमाएका छन् भने १०१ जना घाइते भएका छन् ।

यस्तै आँपटारीदेखि मुग्लिङ सडकखण्डमा ३४सडक दुर्घटनाबाट १४ जनाको मृत्यु भएको छ भने ८३ घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङदेखि मौवाखोलासम्म १८ सवारी दुर्घटनाबाट चारको मृत्यु र ३८ जना घाइते भएका छन् । भरतपुर रिङरोडमा यो अर्थिक वर्षमा मात्रै सात जनाको मृत्यु भएको छ भने २० घाइते भएका छन् ।
आज समुदाय साझेदारी अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सडक दुर्घटना न्यूनीकरण अन्तक्र्रिया कार्यक्रममा ट्राफिक प्रमुख गिरीले चितवनमा आवश्यकताअनुसार ट्राफिक प्रहरी नभएको गुनासो गरे । उनले जिल्लाभरीमा ट्राफिक प्रहरीको दरबन्दी ३१ जनाको मात्र भएको काजमा आएका सहित ५५ रहेको बताउँदै बढ्दो सहरीकरण , सवारी साधन र सडक प्रयोगकर्ताको चापलाई व्यवस्थित गरी सडक दुर्घटनामा न्यूनीकरणका लागि थप ४० जना प्रहरी जनशक्ति थप्नुपर्ने माग राखे ।
यस्तै उनले चितवनका मुख्य सडकमा आवश्यक पर्ने पूर्वाधारको अभाव रहेको बताए । ‘नो पार्किङ’ , ‘नो स्टप’, ‘उछिन्न निषेध’ जस्ता ट्राफिक चिन्ह, डिभाइडर, जेब्रा क्रसिङमा रङ मेटिएकाले रंगरोगन नहुनेले पनि सडक दुर्घटना बढेको बताए । यस्तै सडकका राजमार्गहरुमा रहेको खाल्डाखुल्डीले पनि दुर्घटना निम्तिरहेको उनले बताए । दुर्घटना नियन्त्रणका लागि लागि सरोकार निकायले तत्कालै ध्यान दिनुपर्ने उनको विचार थियो । कार्यक्रममा सहभागी विमला मगरले मादक पदार्थ सेवन तत्कालै परीक्षण गरिए पनि लागूपदार्थको परीक्षण हुन नसक्नुले पनि दुर्घटना बढेको बताइन् । उनले विधार्थी बोक्ने गाडीमा बच्चाहरु ओर्लदा, झर्दा उनीहरलाई ट्राफिक ज्ञान नहुने भएकाले विशेष ख्याल गनुपर्ने बताइन् ।
यस्तै रत्ननगर नगरपालिका उपप्रमुख विमला दुवाडीले डिभाइडरमा ठोक्किएर, बाटोमै सवारीसाधन राख्दा बाटो साघुँरो भई दुर्घटना बढिरहेको बताइन् । दुर्घटना न्युनीकरणको लागि ट्राफिक प्रहरीको दरबन्दी बढाउन स्थानीय तह तथा केन्द्रबाटै छलफल गरेर भए पनि थप्नुपर्ने बताइन् । यस्तै ट्राफिक लाइट, जनचेतना फैलाउने जस्ता भूमिकामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यस्तै चितवन जिल्ला प्रशासन कार्यलय प्रमुख नारायणप्रसाद भट्टराईले चितवनमा बाढी पछि सडक दुर्घटना दोस्रो विपद्को रुपमा रहेको अवस्था जानकारी गराउँदै यसको न्यूनीकरणको लागि विभिन्न रणनीतिक कार्ययोजना बनाएर अगाडि बढ्ने बताए । उनले निकुञ्ज क्षेत्रमा सवारी साधनमा जनावर ठोक्किने र दुर्घटना हुने भएकाले टिकौली क्षेत्रमा रात्रि समयमा टाइम कार्ड लागू गर्ने पूर्वतयारी रहेको जानकारी दिए । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख दानबहादुर मल्ल, माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।
























