चितवन विशेष
शारदानगरमा लामाहरुको राष्ट्रिय भेला हुने

चितवन, पुस १-
लामा गुरुहरुको राष्ट्रिय भेला शारदानगरको टसिलिङ बौद्ध गुम्बा परिसरमा हुने भएको छ ।
भेलामा ३०० लामा गुरु र एक हजार बढी भक्तजन सहभागी हुने जनाइएको छ । गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको आयोजनमा हुने राष्ट्रिय भेलामा बुद्ध दर्शनका आधारमा पूजा विधि र कर्मकाण्डमा एकरुपता ल्याउने निष्कर्ष निकालिने जनाइएको छ । समाजका केन्द्रीय अध्यक्ष खेन्पो शिर लामा गुरुङले राष्ट्रिय भेलाले बुद्ध दर्शनलाई देशव्यापी बनाउन जागरण सुरु गर्ने बताए ।
यही पुस ४ गतेदेखि सुरु हुने भेला ६ गते सकिनेछ । ४ गते समाजको छैठौँ वार्षिक साधारण सभाको उद्घाटन तथा बन्द सत्र हुनेछ । बन्द सत्रमा कर्मकाण्डलाई एकरुपता बनाउन गहन छलफल हुने अध्यक्ष गुरुङले जानकारी दिए । समाजका क्षेत्रीय शाखा चितवनका सचिव हितमान गुरुङले ५ गते बिहान ७ बजे नारायणगढमा शान्ति पदयात्रा निकालिने बताए । उनका अनुसार पुलचोकदेखि चौबिसकोठीसम्म पदयात्रा निस्कने छ ।
गुरुङ समुदायको भेषभुषा, संस्कृति झल्काउने कार्यक्रमसहित पदयात्रा निकालिने छ । यस्तै शनिबार तेस्रो राष्ट्रिय भेला शारदानगरको टसिलिङ बौद्ध गुम्बा परिसरमा हुनेछ । भेलाको लुम्विनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राज्ञ. डा हृदयरत्न बज्राचार्यले उद्घाटन गर्नेछन् । ६ गते आइतबार समाजको दोस्रो अधिवेसनले ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । भेला पश्चात चितवन घोषणापत्र सार्वजनिक हुनेछ । तीन दिने कार्यक्रममा ग्रहशान्ति, अवतारी लामा रिन्पोछेबाट अभिषेकलगायतका गतिविधिसमेत हुनेछन् ।
























