चितवन विशेष
चितवनका पाँच अण्डा उत्पादक किसान प्रहरी नियन्त्रणमा

भरतपुर,मंसिर ३०-
चितवनमा लामो समयदेखि अण्डाको भाउमा गिरावट आउँदा किसान मर्कामा परेका छन् । कतिपय किसानले घरबार नै जाने आवस्था आएको बताएका छन् । बजार भाउ अनुसार किसानको लागत मूल्य पनि उठ्दैन् ।
पछिल्लो समय अण्डाको भाउका सम्बन्धमा नेपाल अण्डा उत्पादक सङ्घ र अण्डा, दाना, कुखुरा वितरण सङ्घबीच विवाद चर्किएको छ । यसअघि अण्डा उत्पादक सङ्घले अण्डाको भाउ तोक्दै आएको थियो । पछिल्लो समय अण्डा, दाना, कुखुरा वितरक सङ्घले समेत आफै अण्डाको मूल्य तोक्न थालेपछि विवाद झन् चुलिएको हो ।
अण्डाको मूल्य निर्धारण गर्न अण्डा, दाना, कुखुरा वितरक सङ्घको बैठक बसिरहेको समयमा प्रवेशगरी अण्डा उत्पादक सङ्घमा आवद्ध किसानले उचित मूल्य पाउनुपर्छ भन्दै होहल्ला गरेपछि दुवै पक्षबीच तिक्तता झन् बढेको छ । बैठकमै हातपात भएको र कुर्ची फोडिएको भन्दै अण्डा, दाना, कुखुरा वितरक सङ्घले प्रहरीमा उजुरी दिएपछि पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भरतपुर २३ का आनन्द कुमार मास्के, भरतपुर ६ का प्रकाश अधिकारी, दिपेश्वर केसी, रामहरी केसी र भरतपुर १४ का राजेन्द्र शाखी रहेका छन् । उनीहरु पाँचै जनालाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा म्याद थप गरिएको छ । अण्डा, दाना, कुखुरा वितरक सङ्घले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले किसानलाई प्रहरीको हिरासतमा राखेर विचौलियाले राज गर्न खोजेको बताए । उनले किसानलाई मारेर आफै मूल्य निर्धारण गर्न खोजेपछि समस्या उत्पन्न भएको बताए । ‘अहिलेको मूल्यमा किसानको लागत समेत उठ्ने अवस्था छैन’ उनले भने, ‘साना किसानलाई मारेर आफै राज गर्न खोजियो ।’ उनले किसानको पक्षमा निर्णय नभएसम्म निरन्तर आन्दोलन गरिरहने चेतावनी दिए ।
अण्डा, दाना, कुखुरा वितरक सङ्घका अध्यक्ष तेज नारायण पाण्डेले किसानले वितरक सङ्घका महासचिव वीरबहादुर गुरुङ र निवर्तमान अध्यक्ष रामलाल भुषाललाई हातपात र कुर्सी तोडफोड गरेका कारण प्रहरीमा किटानी जाहेरी दिएको बताए । उनले अण्डा उत्पादक सङ्घले तोकेको मूल्यमा अण्डा उठान नसक्ने भएपछि आफै मूल्य तोकेको स्वीकार गरे । ‘उहाँहरुले तोकेको ठूलो अण्डाको मूल्य २७५ रुपैयाँमा हामीले अण्डा वितरण गर्न सक्दैनौँ भनेर २७० रुपैयाँ मूल्य निर्धारण गरेको थियौँ’ उनले भने, ‘यसै क्रममा आक्रोश पोखियो ।’ उनले किसानका समस्याका बारेमा आफूहरु गम्भीर रहेको बताए ।
‘अण्डाको मूल्य तोक्ने अधिकार उहाँहरुलाई पनि छैन, हामीलाई पनि छैन’ पाण्डेले भने, ‘यो राज्यले जिम्मा लिनुपर्छ ।’ उनले अण्डाको मूल्य किन कम भयो भनेर अण्डा वितरक सङ्घलाई नभई राज्यलाई प्रश्न गर्नुपर्ने बताए । ‘यसअघि अण्डा उत्पादक सङ्घले नै अण्डाको मूल्य निर्धारण गर्ने गरेको थियो, हामीसँग सहकार्य गरेर निर्धारण हुने गरेको थियो’ उनले भने । ‘किसानले हामीलाई अण्डा नदिन पाउँछन्, हामीले सिण्डिकेट गरेका छैनौँ’ उनले जिकिर गरे ।
























