चितवन विशेष
पत्रकार कल्याणकारी कोषका लागि चितवनमा चलचित्र जात्रैजात्राको च्यारिटी शो

चितवन, मंसिर २६ –
पत्रकार महासंघ चितवन शाखाले १५ लाख रुपैयाँ बराबरको पत्रकार कल्याणकारी अक्षय कोष स्थापना गर्न आज नारायणगढको इन्द्रदेव चलचित्र मन्दिरमा ‘जात्रैजात्रा’ फिल्मको च्यारिटी सो गरिएको छ ।
शाखाका अध्यक्ष राधेश्याम खतिवडाका अनुसार च्यारिटी सो को टिकट बिक्री र दाताको सहयोगमा १० लाख हाराहारी संकलन भएको छ । थप रकम जुटाएर १५ लाखको अक्षयकोष खडा गरिने उनले बताए । सो रकमलाई मूल धन खर्च नगर्ने गरी बैंकमा जम्मा गरिने छ । त्यसबाट प्राप्त व्याजलाई पत्रकारहरु आपत, विपत र दुःखमा पर्दा सहयोग गरिने उनले जानकारी दिए । दुःखमा परेका पत्रकारलाई संस्थागत अभिभावकत्व महसुस गराउन र दुःख, बिमार हुँदा सार्वजनिकरुपमा सहयोग जुटाउँदै हिड्नुपर्ने बाध्यता अन्त्यका लागि महासंघले यो कोष खडा गर्न लागेको खतिवडाले बताए ।
कोषलाई व्यवस्थितरुपमा सञ्चालनका लागि पत्रकार कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार गरिने र सोही कार्यविधि अनुसार पत्रकार महासंघले आगामी दिनमा सहयोग गर्नेछ । शाखामा २३७ जना सदस्य रहेका छन् । स्थानीय सञ्चार माध्यम बढ्दै गएको र राजधानीबाट सञ्चालन हुने ठूला सञ्चार गृहको कार्यालय तथा सम्वाददाता यस जिल्लामा भएकाले पत्रकारको संख्या बढ्दै गएको छ । जिल्लामा २१ वटा एफएम रेडियो, ६ वटा दैनिक, १३ वटा साप्ताहिक पत्रिका, चार वटा टेलिभिजन, ११ वटा अनलाइन सञ्चालनमा रहेका छन् ।
























