चितवन विशेष

नागरिकलाई दुःख दिने सहकारी कारवाहीमा पर्छनः मन्त्री लामा

Banner

चितवन,मंसिर २१-

प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले सहकारीलाई व्यवस्थित बनाइने बताएका छन् । शनिबार चितवनको भरतपुरमा आयोजित सहकारीहरुको एकीकरण सभामा बोल्दै मन्त्री लामाले नियमावली पास भइसकेपछि बेतिथी निम्त्याउने सहकारीलाई कारबाही गरिने बताए । उनले भने,‘नियम भन्दा बाहिर गएर पैसा मात्र कमाउन खोज्ने र अरुको घरबार उडाउन खोज्ने सहकारीबारे मन्त्रालयमा गुनासो आएको छ,अव त्यस्ता सहकारीहरु कारवाहीमा पर्छन् ।’ उनले सहकारीले व्याज असुल्ने मात्र नभई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । सहकारी भित्रका वेतिथीबारे समयमै जानकारी दिन पनि मन्त्री लामाले सबैमा आग्रह गरे । सहकारीहरु मर्ज हुनुको विकल्प नरहेको भन्दै उनले प्रदेशभर अभियान चलेको बताए ।

अर्काे प्रशंगमा उनले कृषिलाई आधुनिकीकरण गर्नका लागि अनुदान दिइने बताए । कृषकहरुले नयाँ खालको तरकारी उत्पादन गर्न आवश्यक पर्ने ग्रिन हाउस, हाइटेक प्रविधि, टनेलजस्ता विषयमा सहयोग गर्न आग्रह गरेको अवस्थामा मन्त्रालय सधैँ सकारात्मक रहेको लामाको भनाइ छ । सहकारीले उत्पादनमूलक क्षेत्र चक्लाबन्दी खेती गरे सघाउन मन्त्रालय तयार रहेको उनले बताए । नेपालको समृद्धि कृषि, उद्योग र पर्यटनबाट मात्रै हुने भएकाले किसानसँग सहकार्य गरेर अगाडि बढ्ने लामाको भनाइ छ ।

सरकारले आगामी २०७७ असोजदेखि एक व्यक्ति एक सहकारी अवधारण अगाडि सारेको भन्दै पछिल्लो समय चितवनमा धमाधम सहकारीहरु एकीकरण भइरहेका छन् । भरतपुर ११ मा रहेका समझदारी बचत तथा ऋण सहकारी संस्था र भरतपुर ११ कै भोजाड बचत तथा ऋण सहकारी संस्थाबीच शनिबार एकीकरण गरिएको हो । एकीकरणपछि संस्थाको नाम समझदारी भोजाड बचत तथा ऋण सहकारी संस्था राखिएको छ । कार्यक्रममा एकीकरण कार्यदलका सदस्य रत्नकुमार श्रेष्ठले एकीकरण कार्यविधि प्रस्तुत गरेका थिए । सो सभामा समझदारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष युवराज पौडेल र भोजाड बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यमनाथ आचार्यले दुवै संस्था एकीकरण भएको घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>