चितवन विशेष

भरतपुर र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवद्र्धन सम्झौता

Banner

चितवन,मंसिर १८-

भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवद्र्धन गर्न द्विपक्षीय सम्झौता भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीबीच आज यहाँ आयोजित एक कार्यक्रममा सम्झौता भएको हो ।

पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै दुवै क्षेत्रको पर्यटन विकासमा सहकार्य गर्ने सम्झौता भएको हो । एघार बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरी दुवै क्षेत्रको पर्यटन विकासमा दुवै स्थानीय तहले सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

सम्झौतामा भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच दुवै क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि सहयोग गर्ने, दुवै स्थानीय तहका पर्यटन क्षेत्रसँग सम्बन्धित सूचना जानकारी एवं अध्ययन अनुसन्धानबाट पत्ता लागेका नयाँ विषयको आदान–प्रदान गर्ने, भरतपुर र लुम्बिनी हवाई सेवा सञ्चालन गर्न आवश्यक पहल गर्ने, भरतपुर महानगरको एक सडकलाई लुम्बिनीमार्ग र लुम्बिनी सांस्कृतिक नगरपालिकाको एक सडकलाई भरतपुरमार्गका रूपमा नामाकरण गर्ने उल्लेख छ ।

यसैगरी दुवै पालिकाका शहरहरुलाई सफा, सुन्दर, स्वच्छ र पर्यटनमैत्री बनाउनका लागि प्लाष्टिक झोला, सुर्तीजन्य पदार्थ आदि मुक्तक्षेत्र घोषणा गर्ने, राष्ट्रिय एवं अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धन एवं भ्रमणका विषय संयुक्तरूपमा अगाडि बढाइने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख चौधरीले भरतपुर महानगर प्रमुखसहितको समूहलाई लुम्बिनी भ्रमणको निम्तो दिनुभयो । उहाँले भरतपुर महानगरको साथ आफूहरुलाई चाहिएको बताउँदै आवश्यक सहयोग गरिदिन पनि आग्रह गर्नुभयो ।

सो अवसरमा भरतपुर महानगर प्रमुख दाहालले आफूहरुले भ्रमण वर्षलाई लक्षित गरी धेरै कार्यक्रम तयार पारेको र पुसको अन्त्यतिर बृहत कार ¥यालीसहित लुम्बिनी भ्रमणको तयारी भएको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकातर्फबाट पत्रकार हेमबहादुर विष्टले लुम्बिनी २५ भन्दा बढी देशको सांस्कृतिक केन्द्र भएको र यहाँ वार्षिक १६ लाख पर्यटकले भ्रमण गर्न आउने गरेको बताउँदै लुम्बिनीको विकासमा भरतपुरले साथ दिनुपर्ने बताउनुभयो । भरतपुर महानगरका पर्यटनविज्ञ विश्व सुवेदीले भरतपुर महानगरका २७ पर्यटकीय गन्तव्यको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा महानगरका उपप्रमुख पार्वती शाह ठकुरीले दुई स्थानीय तहबीच समन्वय गर्दा दुवैलाई फाइदा पुग्ने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>