चितवन विशेष
भरतपुरमा भएको महायज्ञमा एक करोड ४० लाख संकलन

चितवन, मंसिर १७-
देवघाटमा समावेशी कन्या गुरुकुल निर्माणका लागि भरतपुरमा आयोजित महायज्ञमा बुधबारसम्म एक करोड ४० लाख रुपैयाँ बढी संकलन भएको छ ।
बुधबार मात्रै ३३ लाख रुपैयाँ रकम संकलन भएको महायज्ञको आर्थिक समिति संयोजक चन्द्रलाल राजभण्डारीले बताए । बुधबार भरतपुरका सूर्यबहादुर कार्कीले १० लाख ११ हजार १११ रुपैयाँ, भरतपुर ११ की विमला शर्माले १० लाख ११ हजार १११ सुनसरीका विक्रम कार्कीले पाँच लाख ५५ हजार ५५६ रुपैयाँ दान गरेको राजभण्डारीले बताए । अन्य दानवीरहरुले एक लाख रुपैयाँसम्म दान गरिरहेका राजभण्डारीको भनाइ छ ।
यसैगरी मंगलबार भूमि दानसहित नगद दान गरेको महायज्ञका मूल संयोजक रवीन्द्र अधिकारीलाई बुधबार बाजागाजासहित टोल परिक्रमा गराएर सम्मान गरिएको छ । दानवीरहरुले रकम बोल्ने क्रम जारी रहेको भन्दै राजभण्डारीले अन्य दिनमा समेत दानवीरहरुले रकम प्रदान गर्ने तयारी गरिरहेका बताए । चितवन, नवलपुर र तनहुँको संगममा पर्ने प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटधाममा समावेशी कन्या गुरुकुल निर्माणका लागि भन्दै मंसिर १३ गतेदेखि भरतपुर १२ को पोखरेली टोलमा धनधान्याचल एवम् सप्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ ।
मंसिर २१ गतेसम्म सञ्चालन हुने महायज्ञबाट भएको आम्दानीले पवित्र तीर्थस्थल देवघाटधाममा १२ रोपनी क्षेत्रफलमा आवाससहितको कन्या गुरुकुल सञ्चालन गर्ने तयारी गरिएको महायज्ञ मूल समिति संयोजक रवीन्द्र अधिकारीले जानकारी दिए । नेपालका सबै वर्ग समुदाय, सम्प्रदायका बालिकालाई समेट्ने गरी गुरुकुल शिक्षा प्रदान गर्न ॐ शिवशक्ति कल्याणी केन्द्र भरतपुरको आयोजनामा महायज्ञ सुरु गरिएको हो । कन्या गुरुकुलको निर्माण सम्पन्न गर्न करिब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएकोमा पहिलो चरणमा ६ कक्षादेखि शिक्षा आरम्भ गराइने अधिकारीले बताए । गुरु योजनाअनुसार सम्पूर्ण निर्माण सम्पन्न गर्न २० करोड रुपैयाँ लाग्ने भए पनि पहिलो चरणमा चार करोड रुपैयाँ भएपछि कक्षा सञ्चालन गर्न सकिने अधिकारीले बताए । पछिल्लो समय वैदिक सनातन धर्म र संस्कृतिमाथि हस्तक्षेप भइरहेकाले भन्दै गुरुकुल शिक्षामार्फत यसको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको अधिकारीको भनाइ छ । महायज्ञ अवधिभर बाल ब्रह्मचारी पण्डित श्यामशरण अधिकारीबाट पाठ पारायण, धर्म दर्शन एवम् पुराणका प्रवक्ता धर्माचार्य कृष्णप्रसाद गुरागाईबाट कथा प्रवचन तथा विशिष्ट साधु सन्त महात्मा तथा जगतजननी शिवशक्ति स्वरुपा कयाणीबाट आशिर्वचन प्रदान हुने भइरहेको छ ।
























