चितवन विशेष
‘विप्लव’ समूहको आज पार्टी पुनर्गठन दिवस, चितवनका ठाउँठाउँमा गोप्य कार्यक्रम

चितवन, मंसिर ८-
प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आज परेको पार्टी पुनर्गठन दिवसको अवसरमा चितवनका ठाउँठाउँमा गोप्य अन्तरक्रियात्मक कार्यक्रमको तयारी गरेको छ ।
२०७१ साल ८ मंसिरमा तत्कालीन नेकपा–माओवादीबाट विप्लव नेतृत्वमा नयाँ पार्टी गठन भएको थियो । त्यही दिनको सम्झनामा विप्लव समूहले आज देशभर कार्यक्रम आयोजना गरेर पार्टी पुनर्गठन दिवस मनाउने विप्लव पार्टी स्रोतको भनाइ छ । आजकै दिन २०५८ सालमा माओवादीले जनयुद्ध सुरू गर्दा जनमुक्ति सेनाको औपचारिक रूपमा घोषणासमेत गरेको थियो । चितवनका एक पार्टी नेताले पार्टी पुनर्गठन दिवसको अवसरमा चितवनका सबै स्थानीय तहमा गोप्यरुपमा नागरिकसँग अन्तक्र्रिया कार्यक्रम राखिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘चितवनमा विप्लव समूहको संगठन निकै राम्रो छ, हाम्रा समर्थकहरु पनि धेरै रहेका छन् । त्यसैले हामीले आजको ऐतिहासिक दिनमा जनतासँग साक्षात्कार गर्ने तयारी गरेका छौं ।’
त्यसैगरी विप्वल नेकपा स्रोतका अनुसार सुरक्षा अवस्था पार्टी अनुकूल रहे आज विप्लवले रोल्पाबाट शुभकामना सन्देश सार्वजनिक गर्ने र पार्टी निकट सञ्चरमाध्यमबाट अन्तर्वार्तासमेत सार्वजनिक गर्ने कार्यतालिका राखिएको छ । त्यस्तै, उपत्यकामा गोप्य छलफल, कालिकोट, मुगु, जाजगकोट, कैलाली,बाँके, दाङ, सुर्खेत, रुपन्देही, नवलपरासी, कपिलवस्तुमा गोप्य सभाको तयारी गरेका छन् । त्यस्तै पूर्वको झापा, इलाम, संखुवासभा, ताप्लेजङ, सोलुखम्बु र भोजपुरमा समेत कार्यक्रम गर्ने तयारी गरेका छन् । सरकारले गतवर्ष २८ फागुनमा प्रतिबन्ध लगाएसँगै विप्लव नेकपाले खुला कार्यक्रम गर्न पाएको छैन ।
























