चितवन विशेष
सिएमसीको होस्टेल परिसरमा पेस्तोल भेटियो,विद्यार्थी भन्छनः फसाउन खोजियो

चितवन,मंसिर ७
चितवन मेडिकल कलेजको कैलाशनगर स्थित होस्टल परिसरमा पेस्तोल फेला परेको छ । कलेजको कम्पाउण्ड भित्रको टिटि बोर्ड खेल्ने स्थानमा पेस्तोल भेठिएको चितवन प्रहरीले जानकारी दिएको छ । होस्टेल परिसर प्रहरीले घेराउ गरेको छ । प्रहरीले होस्टलमा छापा मारेपछि त्यसको विरोधमा विद्यार्थीले नाराबाजी गर्दै बिरोध गरेका छन् ।
मेडिकल कलेज प्रशासनले लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजनको माग गर्दै चितवन मेडिकल कलेजका विद्याथीहरु निरन्तर आन्दोलनमा छन् । ठूलो संख्यामा रहेका प्रहरीले होस्टललाई घेरा हालेर राखेको विद्यार्थीले बताएका छन् । होस्टलका सुरक्षा गार्डले हतियार भेटिएको सूचना दिएपछि प्रहरी पुगेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए । उनकाअनुसार होस्टलभित्र ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली भेटिएको छ ।
चितवन मेडिकल कलेजले शुल्क समयोजन गर्ने सहमति कार्यान्वयन गर्न आलटाल गर्दै आएको छ । त्यसैले भोलि आइतबार भरतपुरमा अभिभावकसहित वृहत प्रदर्शन गर्ने विद्यार्थीहरुको तयारी थियो ।
तर पेस्तोल कसको हो र कुन अवस्थामा भेटिएको भन्ने प्रहरीले खुलाएको छैन । विद्यार्थीहरुले भने आन्दोलनरत आफूहरूलाई फसाउने प्रयास भइरहेको बताएका छन् ।
उनीसहितका विद्यार्थी नेतालाई फसाउन प्रहरीले आफैले पेस्तोल र गोली भेटिएको भनेर आतंक मच्चाएको एक विद्यार्थीले जानकारी दिए । ‘हामी असुरक्षित र आतंकित छौं’ विद्यार्थीले टेलिफोनमा भने, ‘होस्टलमा हतियार भनेर प्रहरीले फसाउन खोज्यो ।’
























