चितवन विशेष
सप्तगण्डकी क्याम्पसमा शोधपत्र लेखनसम्बन्धी कार्यशाला

चितवन, मंसिर ७ –
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा एमएड तहको शोधपत्र लेखनसम्बन्धी एक दिने कार्यशाला सञ्चालन भएको छ ।
कार्यशालाको शिक्षा शास्त्र संकायका डिन प्राध्यापक डा कृष्णप्रसाद गौतमले आज उद्घाटन गरेका हुन् । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डिनको कार्यालयको आयोजना र सप्तगण्डकी बहुमुखी क्याम्पसको सहआयोजनामा भएको कार्यशालामा झण्डै प्रदेश नम्बर ३, ४ र ५ का १५० जना विभिन्न क्याम्पसका विषय विज्ञ र प्राध्यापकहरुको सहभागिता रहेको छ ।
शिक्षा शास्त्र संकायकी सहायक डिन कुश्मिला आचार्यको अध्यक्षतामा भएको कार्यशालामा सहायक डिन रविकिरण अधिकारीले कार्यशालाको औचित्यमाथि प्रकाश पारेका थिए । त्यसैगरी कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतो, क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापा, भानुभक्त क्याम्पस दमौलीकी उपप्राध्यापक कल्पना लम्साल, प्राध्यापक डा बालमुकुन्द भण्डारी, प्राध्यापक डा भिमसेन देवकोटा, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रमाकान्त सापकोटालगायतले मन्तव्य राखेका थिए ।
कार्यशालामा नेपाली, अंग्रेजी, स्वास्थ्य, शैक्षिक योजना तथा व्यस्थापन, जनसंख्या, गणित विषयका विज्ञहरुले शोधपत्र लेखनसम्बन्धी प्रशिक्षण दिएका छन् ।


























