चितवन विशेष

नारायणी कलामन्दिरमा ‘चरनदास चोर’ नाटक मंचन गरिने

Banner

चितवन, मंसिर ४–

चितवनको नारायणी कलामन्दिरमा चर्चित लोक नाटक ‘चरनदास चोर’ नाटक मंचन गरिने भएको छ । भोलि (बिहीबार) दिउँसो ४ बजे नाटक मंचन गर्न लागिएको हो ।

नाटकको सबै तयारी पुरा भइसकेको छ । काठमाडौंको मण्डला थिएटरसँगको सहकार्यमा नारायणी कला मन्दिरले लामो समयपछि नाटक मंचन गर्न लागेको हो । करिब पाँच साताको प्रशिक्षण पछि स्थानीय कलाकारहरुलाई प्रस्तुत गरिने नाटकका निर्देशक विकास जोशीले जानकारी दिए ।

‘चरनदास चोर’ भारत बेलायतको उपनिवेश रहेका बखत विजयदान देथाले लेखेको नाटकलाई भारतीय लेखक हबीव तनवीरले नाटकीय रुपान्तरण गरेपछि आशान्त शर्माले नेपालीमा अनुवाद गरेको नाटक हो । मण्डला थिएटरसँगको सहकार्यमा उक्त नाटकलाई लोक शैलीमा प्रस्तुत गरिंदैछ । गण्डक भाषा शैलीमा उक्त नाटकलाई प्रस्तुत गर्न लागेको निर्देशक जोशीले बताए ।

चितवनकै १८ जना कलाकारहरुले अभिनय गर्ने नाटकलाई चुस्त बनाउन जोशीलाई अष्ट्रियन नागरिक माइकलले पनि सघाएका थिए । यस्तै अर्जुन न्यौपाने र अञ्जान ढुंगानाले सहायक निर्देशकका रुपमा सघाएका छन् । पुष्प श्रेष्ठले नृत्यमा र साजन जोशीले गीतमा सघाएका छन् । मण्डला थिएटरबाट विजय बराल र सोमनाथ खनालले नाटकलाई प्रभावकारी बनाउन सहयोग गरेका थिए ।

यस नाटकलाई पुसबाट नियमित मंचन गर्ने गरी तयारी भइरहेको नारायणी कलामन्दिरका अध्यक्ष अमरदेव प्रधानले जानकारी दिए । उनले मण्डला थिएटरमा समेत नाटक मंचन गर्ने तयारी भइरहेको बताए ।

‘चरनदास चोर’ नाटकले बेरोजगारीको समस्या, मानवीय प्रवृत्ती, कुलतको समस्या तथा समसामयिक विषयबस्तुलाई बोकेको छ । १ घण्टा २० मिनेटको नाटकका लागि कलाकार आफैंले सृजना गरेको मौलिक लयका गीतहरुलाई स्थान दिइने छ । नाटक प्रदर्शन गर्दासम्म करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान नारायणी कला मन्दिरको छ । नाटकलाई चितवन तथा अन्य स्थानमा प्रदर्शन गरेर आम्दानी गर्ने लक्ष्य रहेको अध्यक्ष प्रधानले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>