चितवन विशेष
चितवनमा खुला दिसामुक्त कागजमै सिमित, बजार क्षेत्रमै खुला रुपमा दिसापिशाब

निशा श्रेष्ठ
चितवन, मंसिर ४–
चितवनलाई केही वर्ष अगाडि विधिवत रुपमा खुल्ला दिसामुक्त जिल्ला घोषणा गरियो । तर भरतपुरका मुख्य बजारमै निर्वाध रुपमै शौच गरेका दृश्यहरु देखिन्छ ।
पुलचोक नारायणी पुलको नजिकै पीपलको रुखको आडैमा झाडी छ । त्यहाँ एकजना पुरुष आए र निर्वाध रुपले पिसाब फेरेर गए । त्यहीँ नजिकै साना हातहरु नेपाल नामको एनजीओको बिट छ । त्यही संस्थाकी विमला थापाले त्यहाँनिर दिसा–पिसाबको दुर्गन्धले बस्नै नसक्ने अवस्था रहेको बताउँछिन् ।
पिपलको फेदमा आराम गर्दै गरेका लालबहादुर श्रेष्ठले यस ठाउँमा बस्नै नसकिने अवस्था रहेको बताए । तर त्यसस्थानमा सार्वजनिक शौचालय नै नभएको भने होइन । पुलचोकमा नै सशस्त्र प्रहरी बलको बिट छ ।
सशस्त्र प्रहरीको बीटसँगै भरतपुर खानेपानी व्यवस्थापन बोर्डले सशस्त्र प्रहरी र सर्वसाधरणका लागि सार्वजनिक शौचालय बनाएको छ । यद्यपि आवतजावतको मुख्य केन्द्र पुल्चोकको नारायणी नदी किनारमै खुला रुपले शौच गरेको देखिन्छ ।
भरतपुरकै व्यस्त शहर चौबिसकोठीमा पनि मान्छेहरु होर्डिङ बोर्ड र प्रहरी बुथलाई छेल पार्दै दिसा पिसाब गरिरहेका हुन्छन् । चौबिसकाठीमा रहेको कपडा बैँकमा कपडा मिलाउदै गर्दा मानिसहरु सहजै खुल्लारुपमा दिसा पिसाब गर्दै गरेको दृश्य देखेको सुनाउँछन् बेटर चितवनका अध्यक्ष सागर कार्की । उनी भन्छन्,–‘यहाँ शौच गरिरहेका मान्छेलाई आफैले हकारेर पठाएको छु । देख्दा पढेलेखेका, सभ्य देखिए पनि गाडीबाट झर्ने बित्तिकै शौच गर्न झाडीतर्फ जाँछन् ।’
चौबिसकोठी पिपलको रुखनजिकै क्षेत्री समाज भरतपुरद्वारा निर्मित महिला पुरुषका लागि सार्वजनिक शौचालय रहेको छ । यस शौचालयबारे कतिलाई यसको जानकारी छैन भने कोही पैसा तिर्नुपर्ने कारणले खुला ठाउँमा शौच गर्ने गरेको कार्की बताउँछन् । चौबिसकोठी जस्तो व्यस्त ठाउँमा निःशुल्क रुपमा प्रयोग गर्न मिल्ने सार्वजनिक शौचालय हुनुपर्ने साथै महानगरले नै यसको व्यवस्थापनका लागि पहल गर्नुपर्ने उनको तर्क छ ।
यस्तै भरतपुर महानगरले कतिपय ठाउँको शौचालय ठेकेदारहरुलाई जिम्मा दिइएको, केही ठाउँमा बसपार्क समिति र महानगरले समेत सार्वजनिक शौचालयको व्यवस्थापन हेर्ने गरेको महानगरका वातावरण शाखाका वरिष्ठ ईन्जिनीयर विराट घिमिरे बताउँछन् । बजार क्षेत्रमा पर्याप्त रुपमा शौचालय निर्माणका लागि खुला ठाउँको अभाव रहेको घिमिरे बताउँछन् । मोबाइल ट्वाइलेन्टको अवधारणा ल्याए पनि असहज भइरहेको उनले बताए ।
जबसम्म पर्याप्त शौचालय र यसको व्यवस्थापमा महानगरको तादरुकता देखिदैन तबसम्म खुल्ला दिसामुक्त होइन खुल्ला दिसायुक्त महानगर हुने निश्चित छ ।
























