चितवन विशेष
देवघाटमा कन्या गुरुकुल सञ्चालनका लागि भरतपुरमा मंसिर १३ देखि महायज्ञ

भरतपुर,कात्तिक ३०
देवघाटधाममा कन्या गुरुकुल निर्माण तथा सञ्चालनको लागि भरतपुरमा धनधान्याञ्जल एवं सप्ताह ज्ञान महायज्ञ गरिने भएको छ । उंँ शिवशक्ति कल्याणी केन्द्र,भरतपुरको आयोजनामा मंसिर १३ गते देखि महायज्ञ सुरु हुन लागेको हो । पछिल्लो समय धर्म र संस्कृति हराउंँदै र हस्तक्षेप भईरहेको भन्दै गुरुकुल शिक्षा मार्फत यसको संरक्षण र जगेर्ना गर्न महायज्ञको आयोजना गर्न लागिएको महायज्ञ मुल समारोह समितिका संयोजक रविन्द्र अधिकारीले जानकारी दिए ।
उनका अनुसार नेपालका सबै वर्ग समुदाय, सम्प्रदायका नारीहरुलाई समेट्ने गरी गुरुकुल शिक्षा दिन लागिएको हो । सम्पूर्ण निर्माण सम्पन्न गर्न करीब २० करोड लागत अनुमान गरिएको सो गुरुकुलमा पहिलो चरणमा ६ कक्षादेखि शिक्षा आरम्भ हुने छ ।
सो अवसरमा बोल्दै प्रचार प्रसार सयोजक सुर्य बहादुर कार्कीले दाताको सहयो विना काम निर्माण गर्न नसक्ने भन्दै हुने मान्छेले नहुने मान्छेलाई सहयोग गर्नुपर्ने बताए । १२ रोपनी क्षेत्रफलमा फैलिएको गुरुकुलमा आवास सहितको व्यवस्था, पुस्तकालय, सभाहल लगायतका संरचना निर्माण गर्ने बताइएको छ ।
महायज्ञको तयारीका लागि विभिन्न समिति उपसमिति गठन गरी काम गर्ने संयोजक अधिकारीले जानकारी दिए । देवघाटमा हाल २ वटा कन्या गुरुकुल विद्यालय मार्फत पठनपाठन भईरहेको छ । मंसीर २१ गतेसम्म चल्ने महायज्ञ भरतपुर महानगरपालिका वडा नम्बर १२ , स्थित पोखरेली टोलमा सञ्चालन हुनेछ ।
























