चितवन विशेष
भरतपुरको व्यारेक सार्न सेना तयार छ,विमानस्थल विस्तार हुन्छः मन्त्री भट्टराई

चितवन,कात्तिक ३०
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षको शुरुआतमा नयाँ हिमाल आरोहणका लागि खुला गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँंग कुरा गर्दै उहाँले अहिलेसम्म आरोहणका लागि नखोलिएका हिमाल खुला गर्ने तयारी गरिएको बताउनुभयो । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सरकारले आफ्ना मातहतका निकायलाई तयारी शुरु गर्न निर्देशन दिएको जानकारी गराउँदै उहाँले भन्नुभयो, “भ्रमण वर्षको तयारी तीव्र पारिएको छ, देशभित्र र बाहिर सबैतिर तयारीका लागि पत्राचारसमेत गरिसकिएको छ ।” चालीस देशमा रहेका दूतावासमार्फत भ्रमण वर्षको प्रचार–प्रसारको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
भ्रमण वर्षका अवसरमा पर्यटकीय क्षेत्रमा सरसफाइ गर्ने, व्यवसायीबाट आकर्षक कार्यक्रम घोषणा गर्ने, पाहुनाको सत्कारका लागि जागरण पैदा गर्नेलगायतका काम भइरहेका उहाँले बताउनुभयो । हिमाल आरोहणका लागि आउने पर्यटकका लागि सरकारले बीमा अनिवार्य गराउने, उद्धारका लागि सहज बनाउने, पथप्रदर्शक अनिवार्य लिएर हिँड्नुपर्नेजस्ता नियम बनाएको उहाँले जानकारी दिनुभयो ।
सन् २०२० को जनवरीमा सात प्रदेश र केन्द्रमा भव्यरूपमा कार्यक्रमको उद्घाटन हुने र विदेशमा रहेका दूतावासमा जनवरी ७ तारिखमा शुभारम्भ गर्ने तयारीका साथ सरकार अघि बढेको मन्त्री भट्टराईले जानकारी दिनुभयो । फरक प्रसङ्गमा बोल्दै मन्त्री भट्टराईले भरतपुर विमानस्थलको स्तरोन्नतिका लागि प्रक्रिया अघि बढेको बताउनुभयो । विमानस्थलको स्तरोन्नतिका लागि मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति गठन गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
नेपाली सेना, विमानस्थल, भरतपुर महानगरपालिका र सरोकारवालाको सहभागितामा गठित समितिले यस विषयमा छलफल गरिरहेको उहाँको भनाइ थियो । नेपाली सेनालाई वैकल्पिक स्थानको प्रबन्ध भएसँगै प्रक्रिया शुरु हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सेना तयार छ, उचित स्थान तय भएसँगै उहाँहरु सर्नुहुन्छ, अनि काम शुरु हुन्छ ।”
भरतपुर विमानस्थलसँगैको सेनाको ब्यारेक स्थानान्तरण गरेर विमानस्थलको स्तरोन्नति गर्ने विषयमा छलफल चलिरहेको छ । विमानस्थलको स्तरोन्नतिसँगै यस क्षेत्रमा बनेका संरचना मापदण्डमा झारिने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “बन्दै गरेका संरचना मादण्डअनुसार बन्नुप¥यो, बनिसकेकाको पुनःसंरचना हुनुप¥यो ।”रासस
फाइल तस्विर
























