चितवन विशेष
नारायणी महोत्सवमा दर्शकको चाप घटेन

चितवन, कात्तिक २७ –
आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने नारायणी महोत्सव २०७६ को बुधबार पनि पाँच हजार दर्शकले अवलोकन गरेका छन् ।
महोत्सव आयोजक समितिका संयोजक रोशन राजकर्णिकारका अनुसार महोत्सवमा साँझको समयमा दर्शकको सहभागिता बढ्ने गरेको छ । अपाङ्गता भएका बालबालिकाको सहयोगार्थ गत मंसिर १५ गतेदेखि सञ्चालनमा आएको महोत्सव दर्शकको आगामनलाई मध्यनजर गर्दै पाँच दिन थप गरिएको थियो । महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तरगत बुधबार पप गायक कमल खत्रीले प्रस्तुति राखेका थिए । उनले ‘आँखामा’ लगायतका आफ्ना चर्चित गीतहरु मार्फत् दर्शकलाई मनोरञ्जन दिएका थिए ।
महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तरगत आगामी दिनमा दुर्गेश थापा, कमला घिमिरे तथा पशुपति शर्मा तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकारहरुको प्रस्तुति रहेको सह आयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले बताए । महोत्सवको आम्दानीबाट अपाङ्गता भएका बालबालिकाहरुको लागि खर्च गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । प्रतिष्ठानमा हाल २५ जना अपाङ्गता भएका बालबालिकाले शिक्षादीक्षासँगै निःशुल्करुपमा औषधिउपचार समेत गर्दै आइरहेका छन् ।
विभिन्न व्यवसायिक स्टलहरुका साथै बालउद्यानसमेत राखिएको महोत्सवमा ¥याफ्टिङ गर्ने सुविधासमेत रहेको छ । रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव–२०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्रालि रहेको छ । महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटीभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।
























