चितवन विशेष

सौराहामा आजदेखि विश्व रेन्जर सम्मेलन सुरु हुँदै

Banner

चितवन, कार्तिक २६–

वन्यजन्तु संरक्षणमा खटिने विश्वभरका संरक्षणकर्मी रेन्जरहरूको नवौँ सम्मेलन चितवनको सौराहामा आज (मंगलबार)देखि हुँदैछ । पाँचदिनसम्म सञ्चालन हुने वल्र्ड रेन्जर कंग्रेसमा करिब ७१ देशका पाँच सय ५० संरक्षणकर्मी सहभागी हुनेछन् ।

इन्टरनेसनल रेन्जर फेडेरेसन (आईआरएफ) र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा हुने उक्त सम्मेलन एसियामा पहिलो पटक हो । सम्मेलनले नेपालले वन्यजन्तु संरक्षण र अनुसन्धानमा हासिल गरेको उपलब्धीका साथै वन्यजन्तु पर्यटनमा पु¥याएको योगदानले विश्वभर सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ ।

 

चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु सफारीका लागि मुलुककै पहिलो गन्तव्य हो । एकसिंगे गैँडा, बाघ, हात्तीलगायतका वन्यजन्तु चितवनका मुख्य आकर्षण हुन् । सम्मेलनको तयारीमा खटिएका निकुञ्ज विभागका संरक्षणकर्मी रूपक महर्जनका अनुसार आईआरएफले वन्यजन्तु संरक्षणका सिकाइ, अनुभव साटासाट गर्न र मानव–वन्यजन्तु हितका बारेमा छलफल गर्ने उद्देश्यले हरेक तीन वर्षमा सम्मेलन आयोजना गर्ने गरेको छ ।

आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकाको कोलोराडोमा भएको थियो । त्यसले नवौँ सम्मेलन नेपालमा गर्ने घोषणा गरेको थियो । सम्मेलनलाई वन्यजन्तु संरक्षणमा लागेका विश्वभरका हिरोहरूको भेलासमेत भन्ने गरिन्छ । रेन्जरका हित, स्थानीय समुदाय र रेन्जर, इन्डिजिनियस रेन्जर, क्षमता अभिवृद्धि, महिला रेन्जर, प्रविधि र रेन्जर एसोसिएसनको भूमिकालगायत विषयमा छलफल हुनेछ ।

सम्मेलनका दौरान वन्यजन्तु संरक्षण, अनुसन्धान र प्रजाति अनुसन्धान, वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणमा अनुभव बटुलेका विज्ञहरूले आ–आफ्ना मुलुकका सफल उदाहरण प्रस्तुत गर्नेछन् । सम्मेलनपछि ‘सौराहा घोषणापत्र’ जारी गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>