चितवन विशेष

चितवनमा ध्रुवे हात्ती प्रवृत्ति व्याप्त छ, म कसैलाई छाड्दिन : एसपी मल्ल

Banner

चितवन, कात्तिक २५-

चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले चितवनमा ध्रुवे हात्ती प्रवृत्ति व्याप्त रहे पनि प्रहरीले कसैलाई नछाड्ने बताएका छन् ।

नागरिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज सप्तगण्डकी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई साइबर अपराधबारे जानकारी दिन आयोजित कार्यक्रममा मल्लले सो कुरा बताएका हुन् । कुनै बेला ध्रुवे हात्तीले आतंक मञ्चाए पनि ध्रुवे प्रवृत्तिका अन्य ध्रुवेहरु पनि चितवन आउने गरेको उनले बताए ।  चितवनमा अराजकता मच्चाउन खोज्ने प्रवृत्तिलाई प्रहरीले नछाड्ने उनले  दाबी गरे ।

प्रहरी प्रमुख मल्लले चितवनमा हुने अराजकता र अपराध नियन्त्रणमा प्रहरी एक्लैले भन्दा पनि हरेक बर्दीविहीन प्रहरी भनिने नागरिकको ठूलो जिम्मेवारी हुने विचार राखे । नागरिक र प्रहरीको साझेदारीबाट मात्र सुरक्षा व्यवस्था कायम गर्न सकिने उनको भनाइ थियो । भरतपुरमा ४० वटा थप सीसी क्यामरा थप गरेर समृद्ध र सुखी चितवन बनाउने कार्यमा प्रहरीले पनि साथ दिइरहेको प्रहरी प्रमुख मल्लले बताए । स्मार्ट सिटीको रुपमा चितवनको विकास भएसँगै साइबर अपराध पनि बढ्दै गएकोले पनि साइबर सुरक्षाका कार्यक्रमहरु प्रहरीले सञ्चालन गरिरहेको उनले बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डीएसपी शालिकग्राम पौडेलले नयाँ नयाँ प्रविधिको विकासले अपराधमा आएको परिवर्तन र साइबर अपराधको अवस्थाको बारेमा जानकारी गराएका थिए । त्यस्तै, कार्यक्रममा उनले अबको युद्ध हतियारको युद्ध भन्दा पनि साइबर युद्धमा बदलिँदै गएको विचार राखे । उनले भने, ‘अबको १० वर्षपछि अमेरिकामा चालकबिहिन कार सञ्चालन हुँदै छन् । नेपालमा पनि घरघरै रोबर्ट राख्ने अवस्था आउने छ । यस्तो अवस्थामा प्रहरीको भूमिका पनि बदलिँदै जान्छ ।’

त्यसैगरी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले साइबर अपराधको प्रवृत्ति, नेपालमा यसको अवस्था, यसको नियन्त्रणका उपायहरुबारे विद्यार्थी तथा प्राध्यापकहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका आमसञ्चार तथा पत्रकारिता विषयका सहायक प्राध्यापकहरु मधुसूदन दवाडी र दिपेन्द्र अधिकारीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>