चितवन विशेष

नारायणी महोत्सव : प्रीति आलेको प्रस्तुतिमा दर्शकको हुटिङ

Banner

चितवन, कात्तिक २१-

नारायणगढको नदी किनारमा सञ्चालित ‘नारायणी महोत्सव २०७६’ मा दर्शकको सहभागिता उल्लेखनीय रहेको छ ।

आज दर्शकहरुको राम्रो उपस्थिति रहेको रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सवका संयोजक रोशन राजकर्णिकारले बताए । महोत्सवमा भोलि शुक्रबार १० हजार भन्दा बढी दर्शक आउने अपेक्षा गरिएको राजकर्णिकारले जानकारी दिए । ठूलो एकादशीसमेत परेकाले तीर्थयात्राका लागि नदी किनारमा पुग्ने भक्तालुहरुसमेत महोत्सव अवलोकनका लागि आउने आयोजकको विश्वास छ ।

लोकप्रिय गायिका प्रिती आले, लोक दोहोरी गायिका पार्वती लोहनीलगायतले बिहीबार सांगीतिक प्रस्तुति दिएका थिए । सांस्कृतिक कार्यक्रममा शुक्रबार मिलन लामाले गीत गाउने सहआयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले बताए । महोत्सवमा शिव परियार, दुर्गेश थापा, कमला घिमिरेलगायतका धेरै कलाकारहरु आउन बाँकी नै रहेको अधिकारीको भनाइ छ । ३०० व्यवसायिक स्टल रहेको महोत्सवलाई सफल पार्नका लागि दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक प्रस्तुति भइरहेको अधिकारीले बताए ।

कात्तिक २५ गतेसम्म सञ्चालन हुने महोत्सवबाट भएको आम्दानीबाट अपाङ्गता भएका बालकालिकाहरुको शिक्षा तथा औषधि उपचारमा खर्च गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । प्रतिष्ठानले हाल २५ जना अपाङ्गता भएका बालबालिकालाई आश्रय दिएर औषधिउपचारका साथै शिक्षा समेत प्रदान गर्दै आइरहेको छ ।

महोत्सवमा विभिन्न बालउद्यानका साथै नारायणी नदीमा ¥याफ्टिङ्ग चढ्ने व्यवस्थासमेत मिलाइएको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थापाले बताइन् ।  रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव २०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्रालि रहेको छ । महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटीभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>