चितवन विशेष

भरतपुरको मुना साकोसको ठगी धन्दा,लाखौँ रुपैयाँ दुरुपयोग

Banner

चितवन,कात्तिक २०-

भरतपुर महानगरपालिका–१० हाकिमचोकमा रहेको मुना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकको मिलेमतोमा लाखौँ रुपैयाँ दुरुपयोग भएको छ । संस्थाका अध्यक्ष श्रीराम कुइँकेल र व्यवस्थापक माधव अर्यालले आफूखुसी रकम दुरुपयोग गर्ने गरेको पाइएको हो । संस्थाको बचत र लगानीको बारेमा जानकारी माग्दा संस्थाले चितवन जिल्ला बचत तथा ऋण सहकारी संघलाई समेत हिसाबको बारेमा जानकारी नगराएको पाइएको छ । संघका जिम्मेवार व्यक्तिहरु सहकारीमा गएर हिसाब माग्दासमेत नदिएको पाइएको हो । अध्यक्ष र व्यवस्थापकको मिलेमतोमा उनका आफन्त र साथीलाई लाखौँ रुपैयाँ एक प्रतिशत ब्याजमा लगानी गरेको समेत पाइएको छ ।

त्यस्तैगरी, पाँच लाख रुपैयाँसम्म बिना धितो ऋण लगानी गर्दै आएको सो संस्थाले ३० प्रतिशत रकम जम्मा गरेका बचतकर्तालाई ऋण लगानी गर्नुपर्नेमा सो विपरीत समेत उनीहरुलाई ऋण लगानी गरेको छ । सहकारीले दुई जना व्यक्तिको जग्गा धितो राखी सहकारी विकास बैंकबाट ८०/८० लाख रुपैयाँ ऋण लिएको छ भने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) बाट ५० लाख रुपैयाँ ऋण निकालेको सो सहकारीले १७ लाख रुपैयाँ तिर्न बाँकी छ ।

संस्थाले स्थापनाकालदेखि शेयर सदस्यलाई कुनैपनि मुनाफा रकम नदिएको र साधारणसभामा समेत लेखापरीक्षण प्रतिवेदन पनि नबाँड्ने गरेको एक शेयर सदस्यले बताए । गत आर्थिक वर्षको असार मसान्तमा सहकारीको भल्टमा एक करोड ६० लाख रुपैयाँ हुनुपर्नेमा दुई लाख १० हजार रुपैयाँ मात्र देखिएको थियो । दुई महिना अगाडि निर्वाचित तत्कालिन कार्यसमितिले संस्थाको हिसाब नमिलेको भन्दै निवर्तमान अध्यक्ष श्रीराम कुइँकेलसँग हिसाब बुझ्न मानेनन् साथै उनीहरुले अडिट रिपोर्टमासमेत हस्ताक्षर नगरी तत्कालिन अध्यक्षसहित समितिले पद समेत छाडेका थिए ।

त्यस लगत्तै पुनः कुइँकेल नै अध्यक्षमा आएका थिए । सो संस्थाको स्थापनाकालदेखि हालसम्म अध्यक्ष श्रीराम कुइँकेल अधिकांश समय अध्यक्ष नै रहेका छन् ।

कस्तो छ संस्थाको अवस्था ?

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) की केन्द्रीय सदस्य शान्ति अधिकारीले सो संस्थामा संघका तर्फबाट पटक पटक संस्थाको कार्यसञ्चालन गतिविधि सुधार गर्न अनुरोध गरे पनि सो अनुसार हुन नसकेको बताइन् ।

त्यसैगरी, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिश्चन्द्र सुवेदीले सो सहकारीले सहकारी सिद्धान्त विपरीत कार्य गरेकाले सो संस्था निलम्बन गर्न भरतपुर महानगरपालिकालाई जानकारी गराएको बताए । संघले सो सहकारीको आर्थिक कारोबारको बारेमा पटक पटक जानकारी माग्दा समेत कारोबारको जानकारी नगर्नुले सो संस्थामा आर्थिक अनियमितता हुनसक्ने उनले बताए ।

के छ भनाइ भरतपुर महानगरको ?

भरतपुर महानगरपालिका सहकारी शाखाका सहकारी अधिकृत रामबाबु पौडेलले मुना बचत तथा ऋण सहकारी संस्थाको भरतपुरको पार्वतीपुर र कालिकाको खोलेसिमल बजारमा शाखा कार्यालय बिना अनुमति सञ्चालन भएको बताए । ‘भरतपुरको पार्वतीपुरमा रहेको शाखा कार्यालय पटक पटक बन्द गर्न भनेका छौँ टेर्दैनन्’ उनले भने । दर्ता नगरी चलाएका संस्थाबाट आर्थिक कारोबार गर्न नपाइने समेत उनले बताए ।

हाल सो सहकारीले भरतपुर १९ पार्वतीपुर र कालिका ६ खोलेसिमल बजारमा बिना अनुमति सम्पर्क कार्यालय भन्दै शाखा कार्यालय मार्फत् करिब दुई करोड रुपैयाँ संकलन गरेको छ भने एक करोड २० लाख रुपैयाँ भन्दा बढी लगानी समेत गरेको छ ।

समाचारको खण्डन

गत सोमबार संस्थाको गैरकानुनी शाखा सञ्चालनसम्बन्धी समाचार सञ्चार माध्यममा प्रकाशित भएपछि सोको खण्डन गर्दै सहकारीले विज्ञप्ति जारी गर्दै सहकारी संस्थाको फेसबुकमा सो खण्डन पत्र र केही कागजपत्र राखे पनि केही घण्टा पछि सो कागजपत्रहरु फेसबुकबाट समेत हटाएको सहकारीको फेसबुक स्टाटसमा देख्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>