चितवन विशेष
नारायणी महोत्सव छैठौँ दिनमा: हजारौंले गरे अवलोकन

चितवन, कात्तिक २०-
कात्तिक १५ देखि नारायणगढको नदी किनारमा सञ्चालन भइरहेको ‘नारायणी महोत्सव–२०७६’ बुधबार छैठौँ दिनसम्म आइपुग्दा ५० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।
अपाङ्गता भएका बालबालिकाको सहयोगार्थ सञ्चालन गरिएको महोत्सवमा आजसम्म ५० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सवका संयोजक रोशन राजकर्णिकारले बताए । बुधबार मात्रै १० हजार भन्दा बढी दर्शकहरु महोत्सव अवलोकनका लागि पुगेका राजकर्णिकारको भनाइ थियो । बुधबार चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विकको प्रस्तुति रहेका कारणसमेत दर्शकहरुको सहभागिता बढी भएको आयोजकको भनाइ छ ।
त्यस्तै, बुधबार नै दिपक खड्का, दीक्षा सुनुवारसहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकारहरुले प्रस्तुति राखेका थिए । बिहीबार सातौँ दिन बिहीबार महोत्सवको सांस्कृतिक कार्यक्रममा प्रिती आलेको प्रस्तुति रहेको सहआयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले बताए ।
महोत्सवमा शिव परियार, दुर्गेश थापा, कमला घिमिरेलगायतका धेरै कलाकारहरु आउन बाँकी नै रहेको अधिकारीको भनाइ छ । कात्तिक २५ गतेसम्म सञ्चालन हुने महोत्सवबाट भएको आम्दानीबाट अपाङ्गता भएका बालकालिकाहरुको शिक्षा दीक्षा तथा औषधि उपचारमा खर्च गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । ३०० व्यवसायिक स्टल रहेको महोत्सवलाई सफल पार्नका लागि दैनिकरुपमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक प्रस्तुति भइरहेको थापाको भनाइ छ ।
प्रतिष्ठानले हाल २५ जना अपाङ्गता भएका बालबालिकालाई आश्रय दिएर औषधिउपचारका साथै शिक्षासमेत प्रदान गर्दै आइरहेको छ । महोत्सवमा विभिन्न बाल उद्यानका साथै नारायणी नदीमा ¥याफ्टिङ्ग चढ्ने व्यवस्था समेत मिलाइएको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थापाले बताइन् । रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव–२०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्रालि रहेको छ । महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटीभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।
























