चितवन विशेष
चोरी भएको स्कुटर चेकिङका क्रममा फेला,चितवन ट्राफिकले सवारी धनीलाई बुझायो

चितवन,कात्तिक २०-
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले नारायणगढबाट हराएको स्कुटर नियमित चेकिङका क्रममा फेला पारेर सवारी धनीलाई बुझाएको छ । असोज १६ गते भरतपुर २ पुल्चोक स्थित कान्तिपुर डेन्टलबाट हराएको स्कुट चितवन ट्राफिकले फेला पारेको हो । डा. समिक्षा रानाभाटको नाममा रहेको ना २१ प ८६२८ नम्वरको रातो रंङको डियो स्कुटर चोरी भएको सिसीटिभि फुटेजका आधारमा पत्ता लगेको थियो ।
प्रहरी साहयक निरिक्षक इन्द्र बहादुर घिसिङको कमाण्डमा खटिएको टोलीले चेकजाँचका क्रममा स्कूटर फेला पारेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्र गिरीले जानकारी दिए । उनले नियमित चेकजाँचको क्रममा कात्तिक १७ गते स्कुटर फेला पारेको बताए । स्कुटर चोर्ने व्यक्ती फरार रहेको र सिसी टिभीको पहिचानका आधारमा खोजी भइरहेको उनले जानकारी दिए । पछिल्लो समय विभिन्न क्षेत्रबाट चोरीका मोटरसाइकल र स्कुटर फेला पारेर सवारी धनीलाई बुझाएको गिरीले बताए ।

दशैअघि स्कुटर हराएको रानाभाटले बताइन् । उनले भनिन्,‘हराएको स्कूटर फेला पर्छ भन्ने लागेको थिएन्,नयाँ स्कुटर किन्ने तयारीमा थिएँ तर ट्राफिक प्रहरीका कारण हराएकै स्कुटर फेला प¥यो ।’ उनले सवारीसाधनको सुरक्षाका लागि सबै नागरिकले ट्रफिक प्रहरीलाई सहयोग गर्नुपर्ने बताइन् ।

























