चितवन विशेष

भरतपुरमा अवरुद्ध बाटो खुलाउन सडकमा नै टोल भेला

Banner

चितवन, कात्तिक १९-

भरतपुर महानगरपालिका–११ बसेनीको मृगकुञ्ज टोलको हरियाली मार्गमा परम्परादेखि प्रचलनमा आएको कच्ची सडक अवरुद्ध भएपछि विरोध स्वरुप टोलबासीले सडकमा नै टोल भेला गरेका छन् ।

स्थानीय भगवती घिमिरेले आफ्नो नामको जग्गामा क्षति पुगेको भन्दै सो भित्रि कच्ची सडक अवरुद्ध गर्दै आएपछि मृगकुञ्ज टोलले सडकमा नै सो भेला गरेको हो । टोलका अध्यक्ष कुलबहादुर तामाङको अध्यक्षतामा भएको टोल भेलामा भरतपुर महानगरपालिका–११ का सम्पूर्ण टोलका अध्यक्षहरुको प्रतिनिधित्व रहेको थियो । भेलामा व्यक्तिको नामको जग्गा सडकको बीच भागमा पर्ने भन्दै परापूर्व कालदेखि मानिसहरु पैदल हिड्दै आएको र विसं २०६७ सालदेखि सवारीसाधन हिड्न थालेको बाटोमा घिमिरेले बाटो छेकेर अवरुद्ध गर्दे आएको टोलबासीले जनाएका छन् ।

 

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ११ टोलविकास क्लबका अध्यक्ष रविन्द्र बरालले दुई वर्षअघि देखि सवारीसाधन र मानिस हिड्दै आएको बाटो व्यक्तिकै नाममा भए पनि रोक्न नहुने विचार राखे । उनले भने, ‘यस्तो समस्या भरतपुरको बसेनी क्षेत्रमा धेरैवटा रहेका छन् । यसरी सबैले व्यक्तिको जग्गा भन्न थाल्ने हो भने मानिसहरु कतैबाट घरबाट निस्कन नसक्ने अवस्था आउँछ । टोलको विकासमा सानातिना विषयमा कसैले अवरुद्ध गर्न हुँदैन ।’ कार्यक्रममा नेकपा भरतपुर महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष प्रकाश आचार्यले महिला नेतृ भगवती घिमिरेलाई पनि राखेर उनको कुरा सुनेर समस्याको समाधान खोज्नुपर्ने विचार राखे । उनले भने, ‘विकासमा बाधा वा व्यवधान ल्याउन खोज्ने कार्य आफ्नो पार्टीलाई स्विकार्य छैन । हामी सधै रचनात्मक भूमिका खेल्न तयार छौं ।’ नेपाली कांग्रेस भरतपुर वडा नम्बर ११ का सभापति अमरबहादुर लामाले टोलमा यसप्रकारको बाटो हिड्नै नपाउने गरी आएको समस्या दुःखद् भएको विचार राखे । उनले भने, ‘यो विवाद दुवै पक्ष राखेर समाधान गर्नुपर्छ ।’

त्यसैगरी कार्यक्रममा स्थानीय समाजसेवी तथा बुद्धिजीवी धनञ्जय ढकालले भगवती घिमिरे जस्तो राष्ट्रियरुपमा परिचित व्यक्तिले यसरी बाटो छेक्ने कार्य गरेको भन्ने कुरा आफूले पत्याउन पनि नसक्ने बताए । उनले भने, ‘वार्ता, छलफलका विकल्पहरु हुँदाहुँदै नागरिक नै हिड्न नपाउने गरी सडक अवरुद्ध गर्न मिल्दैन । ’ त्यस्तै कार्यक्रममा टोल विकास क्लब भरतपुर ११ का उपाध्यक्ष लालप्रसाद ढकालले कयौं वर्षअघिदेखि मानिसले प्रयोग गर्दै आएको बाटो व्यक्तिको जग्गामा भए पनि स्वत सर्वजनिक बाटो नै कायम हुने विचार राखे । उनले भने, ‘ जग्गा प्लटिङ गर्दा बाटो सुचारु हुन दिएर घडेरी बेचिसकेपछि बाटो छेक्न मिल्दैन ।’

झण्डै २०० जनाको सहभागिता रहेको कार्यक्रममा स्थानीय अग्रज व्यक्तित्व ईन्द्रबहादुर बोहराले स्थानीय वस्तुस्थिति टोल र बस्तीको विकासको ऐतिहासिक पक्षको बारेमा अवगत गराएका थिए । कार्यक्रममा बसेनी टोल विकास संस्थाका अध्यक्ष हरिबहादुर रानाभाट र मृगकुञ्ज टोलका सल्लाहकार बाबुराम न्यौपानेले पनि वर्षौदेखि नागरिकले प्रयोग गर्दै आएको सडक एकाएक अवरुद्ध गर्न नहुने विचार राखेका थिए ।

कार्यक्रमको समापन गर्दै मृगकुञ्ज टोलका अध्यक्ष कुलबहादुर तामाङले टोलका पदाधिकारीहरुले तत्काललाई मानिसहरु हिडिरहेको कच्ची सडक अवरुद्ध नगर्नोस् वार्ता र छलफल हुँदै छ भन्दा भन्दै राष्ट्रियरुपमा चिनिएका व्यक्तित्व घिमिरेले यस प्रकारको घृणित कार्य गरेको भन्दै आक्रोश पोखे । उनले भने, ‘ टोलको विकासका लागि नागरिकको समस्यालाई बुझेर हामी जस्तोसुकै कदम चाल्न पनि तयार छौं ।’ स्थानीय भगवती घिमिरे राष्ट्रिय महिला आयोगको पूर्वअध्यक्ष तथा नेकपा मालेकी नेता हुन् । कार्यक्रमको समापनपछि टोलबासीहरुले बाटोमा रहेको अवरोध हटाएर बाटो खुलाएका थिए । यसअघि पनि सोही बस्तीमा जोखिमपूर्ण ढंगले माटो डम्पिङ गरेपछि स्थानीयले प्रदर्शन गरेपछि मृगकुञ्ज टोलले वडा कार्यालयको समन्वयमा डम्पिङ हटाएर बाटो खुलाउने सहमति गराएका थिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>