चितवन विशेष

रत्ननगरको बछौली माविमा प्राविधिक शिक्षा पढाउन सुरु

Banner

चितवन, कात्तिक १८

रत्ननगर नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालय बनाउने कामले तीव्रता पाएको छ ।

शिक्षालाई परिणाममुखी बनाउन रत्ननगर नगरपालिकाले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सुरु गरेको हो । अहिलेसम्म पाँच वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सुरु भइसकेको छ । पछिल्लो पटक सौराहा नजिक रहेको बछौली माविमा प्राविधिक शिक्षा सुरु भएको छ ।

रत्ननगरका मेयर नारायण वनले २४ महिने होटल व्यवस्थापन (औद्योगिक प्रशिक्षार्थी) तालिमको आइतबार उद्घाटन गरे । सो अवसरमा उनले आफ्नो कार्यकालमा नगर भित्रका अधिकांश सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सुरु गर्ने बताए । ‘हामी शिक्षालाई सीपसँग जोड्दैछौ’ं उनले भने, ‘शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादन गरेर बजारमा पठाउने योजना छ’ । उनले रत्ननगरले उत्पादन गरेका विद्यार्थीले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाइने बताए । प्राविधिक विषय पढ्न रत्ननगरै जानु पर्छ भन्ने वातावरण तयार गर्ने योजना रहेको उनको भनाइ छ । २४ महिने होटल व्यवस्थापन तालिमको उद्घाटनसँगै बछौली माविमा प्राविधिक शिक्षाको सुरुवात भएको छ ।
नेपाल सरकारअन्तर्गतको सीटीईभीटीईले सो विद्यालयलाई तीन वर्षे डिप्लोमा होटल म्यानेजमेण्ट र २४ महिने होटल व्यवस्थापन तालिम सञ्चालनको लागि अनुमति प्रदान गरेको थियो । २४ महिने होटल व्यवस्थापन तालिमको लागि ३५ जना विद्यार्थीहरु भर्ना भइसकेका छन । ४० जनाको कोटा रहेकोमा १९ जना बैकल्पिक सूचीमा फारम भरेकाहरु मध्यबाट पाँच जना भर्ना गरिने प्रधानाध्यापक शिवराम मरहठ्ठाले जानकारी दिए । २४ महिनामा साढे तीन महिना सैदान्तिक ज्ञान, साढे १८ महिना प्रयोगात्मक र एक महिना सैद्धान्तिक, प्रयोगात्मक र परीक्षा हुने प्रधानाध्यापक मरहठ्ठाले बताए । प्रयोगात्मक सिकाइका लागि विद्यालयले सौराहाका ठूलो सात वटा होटल तथा क्षेत्रीय होटल संघ चितवनसँग सम्झौता समेत गरिसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममणि खनालले जानकारी दिए ।

प्राविधिक शिक्षा सञ्चालनको लागि रत्ननगर नगरपालिकाले ल्याब निर्माणको लागि २५ लाख रुपैयाँ विद्यालयलाई प्रदान गरेको छ । नगरपालिकाले नै प्राविधिक विषयको कक्षा सञ्चालनको लागि १६ लाख रुपैयाँको लगानीमा दुई वटा कक्षाकोठा निर्माण गरेको छ । सो विद्यालयले प्राविधिक शिक्षा सञ्चालनको लागि पूर्वाधार निमार्ण गर्न २०७५ साल माघ महिनामा धान्याञ्चल लगाएको थियो । मेयर वन, आर्थिक समितिका संयोजक गोपीकृष्ण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खनाल लगायतको पहलमा बछौली माविमा प्राविधिक शिक्षा आएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>