चितवन विशेष

नारायणी महोत्सवमा दर्शक बढ्दै, आइतबार सात हजारले गरे अवलोकन

Banner

चितवन, कार्तिक १७–

शुक्रबारदेखि नारायणगढस्थित नारायणी नदी किनारमा सञ्चालन भएको ‘नारायणी महोत्सव २०७६’ को तेस्रो दिन आइतबार सात हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवंम् महोत्सव मूल समितिका संयोजक रोशन राजकर्णिकारकाअनुसार आइतबार लाइभ कन्सर्ट भएकाले दर्शकको उपस्थिति उल्लेख्य रहेको थियो । महोत्सवको तेस्रो दिन आइतबार लोकगायक रामजी खाँण, देवी घर्ती, जादुगर बलराम सरकारले आफ्नो प्रस्तुती राखेका छन् । त्यस्तै, तृष्णा गुरुङको लाइभ म्युजिक कन्सर्टका साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकारहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

महोत्सवको चौथो दिन सोमबार चर्चित गायक प्रकाश सपुत, पूर्णकला विसी, कमेडियन राजा राजेन्द्र पोखरेललगायतका व्यक्तिको प्रस्तुती रहने सहआयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले जानकारी दिए । त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकारहरुको समेत प्रस्तुती रहने अधिकारीले बताए ।

तीन सय व्यवसायिक स्टल रहेको महोत्सवलाई सफल पार्नका लागि दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक प्रस्तुती राखिएको राजकर्णिकारले बताए । कात्तिक २५ गतेसम्म हुने महोत्सवबाट भएको आम्दानीबाट अपाङ्गता भएका बालकालिकाहरुको लागि काम गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । प्रतिष्ठानले हाल २५ जना अपाङ्गता भएका बालबालिकाहरुलाई आश्रय दिएर औषधिउपचारका साथै शिक्षा समेत प्रदान गर्दै आइरहेको छ । महोत्सवमा विभिन्न बाल उद्यानका साथै नारायणी नदीमा ¥याफ्टिङ्ग तथा स्टीमर चढ्ने सुविधा समेत रहेको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीहरुका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थापाले बताइन् ।

रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव २०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्राली रहेको छ । महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटिभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>