चितवन विशेष
उपनिर्वाचनः भरतपुर १६ मा राप्रपा (संयुक्त)को उम्मेद्वार त्रिपाठी

चितवन, कार्तिक १७–
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) चितवनले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेद्वार चयन गरेको छ ।
भरतपुर महानगरपालिका–१६ मा हुने उपनिर्वाचनका लागि राप्रपा (संयुक्त)ले उम्मेद्वार चयन गरेको हो । आइतबार बसेको राप्रपा (संयुक्त) भरतपुर महानगरको बैठकले वडा नं.१६ को अध्यक्षका लागि विष्णु त्रिपाठीलाई उम्मेद्वार चयन गरेको हो । भरतपुर महानगर अध्यक्ष दीपक थापा मगरको अध्यक्षमा बसेको बैठकले त्रिपाठीलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेद्वारको रुपमा चयन गर्ने निर्णय गरिएको पार्टीका जिल्ला सचिव केशब बहादुर भण्डारीले जानकारी दिए ।
सचिव भण्डारीले उपनिर्वाचनका लागि खैरहनी नगरपालिकाको वडा नं. ४ र ५ को पनि छिट्टै उम्मेद्वार घोषणा गरिने बताए । यस्तै बैठकले पार्टी वडा नं.१६ का अध्यक्ष कमानसिंह पाख्रिनको अध्यक्षतामा ११ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
३ नं.प्रदेशकी सांसद रिना गुरुङको प्रमुख आतिथ्यतामा भएको बैठकमा पार्टीका जिल्ला अध्यक्ष विष्णुप्रसाद वाग्ले, वरिष्ठ उपाध्यक्ष रुद्र ढकाल, सह–सचिव रामजी अधिकारी, महिला संगठनकी अध्यक्ष गीता लम्साललगायतको उपस्थिति रहेको थियो ।
























