चितवन विशेष
समुदायिक सहकारीको साधारण सभाका लागि उपसमितिहरु गठन

चितवन, कात्तिक १७-
भरतपुर महानगरपालिका–४ धर्मचोकको सामुदायिक सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा कात्तिक ३० गते हुने भएको छ ।
संस्थाले आज प्रेस नोट जारी गरेर साधारण सभाबारे जानकारी गराएको हो । साधारण सभाको लागि सहकारीले विभिन्न उपसमितिहरु पनि गठन गरेको जनाएको छ । सहकारीले हिरामणि खरालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सहकारीका सचिव काशीराम सापकोटाको संयोजकत्वमा प्रतिवेदन निर्माण एवम् छपाई उपसमिति, उपाध्यक्ष उपेन्द्रराज सापकोटाको संयोजकत्वमा स्वागत एवम् मञ्च व्यवस्थापन उपसमिति , हरिप्रसाद खरेलको संयोजकत्वमा जलपान उपसमिति र केशवप्रसाद अर्यालको संयोजकत्वमा मूल्यांकन, सम्मान तथा पुरस्कार उपसमिति गठन गरेको छ ।
विसं २०५१ सालमा मासिक ५० रुपैयाँ संकलन गरेर ५६ जना सेयर सदस्यबाट सुरु भएको सहकारीको अहिले एक हजार ५६२ जना सेयर सदस्य रहेको सहकारीको नीति निर्माण उपसमितिका सदस्य प्रेम कँडेलले जानकारी दिए । सहकारीले संस्थाको वार्षिकोत्सवको अवसरमा सहकारी शिक्षा, महिला उद्घोषण तालिम एवम् रक्तदान र सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
























