चितवन विशेष
लेखा तथा कर नीति बारे अभिमुखीकरण

चितवन, कार्तिक १७–
उद्यमका लागि प्रोत्साहन गर्ने उद्देश्यले चितवन महिला चेम्बरको अगुवाईमा शनिबार आधारभूत लेखा तथा कर नीति सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
चितवन महिला चेम्बर, चितवन चेम्बर अफ कमर्स तथा सनराइज बैंक लिमिटेडको संंयुक्त आयोजनामा भरतपुरमा गरिएको कार्यक्रममा साना तथा मझौला कर व्यवसायीको लागि जान्नै पर्ने लेखा तथा कर नीतिबारे जानकारी गराइएको हो । कार्यक्रम युवा उद्यमीलाई लक्षित गरी आयोजना गरिएको हो । सनराइज बैंक लिमिटेड केन्द्रीय कार्यालयका प्रतिनिधि अभिषेक श्रेष्ठले सहभागिहरुलाई उद्यम तथा व्यवसायका लागि अति आवश्यक लेखा प्रणालीलाई व्यवस्थित गर्ने उपाय, व्यवसायबाट मुनाफा आर्जन गर्ने उपाय तथा उद्यम गर्न चाहनेका लागि बैंकहरुले दिने सेवाको बारेमा प्रशिक्षण दिए ।

कार्यक्रममा सहभागिहरुले सरकारको अस्पष्ट कर नीतिका कारण आफूहरु समस्यामा परेको भन्दै जिज्ञासा राखेका थिए । सहभागि युवाहरुले बैंकका विभिन्न अस्पष्ट नीतिहरु, सहजरुपमा ऋण नपाउने अवस्था, व्यक्तिगत तथा व्यवसायिक पान तथा भ्याटको अनिवार्यता, आय करका प्रावधानहरुबारे राखेको प्रश्नको प्रशिक्षक श्रेष्ठ तथा सनराइज बैंक नारायणगढ शाखा प्रमुख योगेन्द्र पुनले समाधान गरेका थिए ।
कार्यक्रममा बोल्दै चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले साना तथा मझौला उद्यममा नया“ पुस्ताको आकर्षण बढे पनि सरकारको कर नीतिकै कारण हतोत्साही भइरहेको बताए । कर नीतिबारे पर्याप्त जानकारी नहु“दा समस्यामा परेकाहरुलाई तालीमले केही सहजता हुने अपेक्षा लिएको भन्दै सदुपयोग गर्न आग्रह गरे ।

नेपाल महिला चेम्बरका महासचिव लीमा अधिकारीले महिलाहरुको उद्यमशीलताको विकास गर्न देशभर यस्ता तालीमहरु सञ्चालन गर्दै आएको जानकारी दिइन् । काठमाडौं, पोखरा, झापा जस्ता मुख्य व्यवसायिक शहरहरुमा शाखा विस्तारसंगै उद्यमी सहयोगी तालीम तथा कार्यक्रम गर्दै आएको उनले बताइन् । सनराइज बैंकसंगको सहकार्यात्यमक तालीम अन्य जिल्ला तथा शहरमा पनि सञ्चालन गरिसकेको उनले जानकारी गराइन् ।
चितवन महिला चेम्बरकी अध्यक्ष अनुषा पाठकले स्वदेशमा नै केही गरौं भन्ने उद्धेश्यले उद्यमी बनेकाहरुलाई सरकारको कर नीतिले ल्याएको दुविधा अन्त्य गर्न तालीमको अवधारणा ल्याएको बताइन् । व्यवसायको दिगोपनाको लागि व्यवस्थित सञ्चालन गर्न लेखा तथा कर नीति प्रष्ट हुनै पर्ने उनको भनाई थियो । धेरैलाई आधारभूत लेखा तथा देशको नया“ कर प्रणाली बारे जानकारी नभएको बुझेर अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको उनले प्रष्ट्याइन् ।

नेपाल महिला चेम्बरकी कोषाध्यक्ष चारु शिखरीया, सनराइज बैंक भरतपुर शाखाका प्रमुख अर्जुन अर्याल, बुटवल राममन्दिर शाखाका प्रमुख हरिहर सुवेदीको उपस्थितीमा भएको कार्यक्रम चितवन महिला चेम्बरक अध्यक्ष अनुशा पाठकको अध्यक्षतामा भएको हो ।
























