चितवन विशेष

आजदेखि नारायणी महोत्सव, कृष्णभक्त पोखरेलले उद्घाटन गर्ने

Banner

चितवन, कार्तिक १५–

नारायणी नदी किनारमा आज (शुक्रबार)देखि ‘नारायणी महोत्सव २०७६’ सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । कात्तिक २५ गतेसम्म सञ्चालन हुने महोत्सवको आज संघीय सांसद एवम् व्यवस्थापिका संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

महोत्सवको उद्घाटन आज दिउँसो २ बजे गरिने आयोजक रेविका बाल प्रतिष्ठानले जनाएको छ । महोत्सवको उद्घाटन अगाडि नारायणगढको पुलचोकबाट बिहान ११ बजे विभिन्न जाति तथा समुदाय विशेषको झाँकीसहितको शोभायात्रा निकालिने संस्थाका व्यवस्थापक रोशन राजकर्णिकारले बताए । भरतपुरमा–२ क्षेत्रपुरमा रहेको रेविका बाल प्रतिष्ठानले आयोजना गरेको सो महोत्सवबाट भएको आम्दानी अपाङ्गता भएका बालबालिकाहरुका लागि खर्च गरिने उनले बताए । महोत्सवमा विभिन्न तीन सय वटा व्यवसायिक स्टलहरु रहने राजकर्णिकारको भनाइ छ ।

महोत्सवलाई थप आकर्षण बनाउनका लागि बद्री पङ्गेनी, प्रमोद खरेल, प्रकाश सपुत, शिव परियार, ज्योति मगर, प्रिती आलो, रामजी खाँण, दुर्गेश थापा, कुलेन्द्र विश्वकर्मा, रमेशराज भट्टराईसहित ३५ जना भन्दा बढी कलाकारहरुको प्रस्तुती रहने राजकर्णिकारले बताए । एक करोड रुपैयाँ आम्दानी गर्ने उद्धेश्यसहित सञ्चालन गर्न लागिएको महोत्सवमा करिब ८० लाख रुपैयाँ खर्च हुने रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् ।

महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तरगत शुक्रबार बद्री पंगेनीको प्रस्तुती रहनेछ भने विभिन्न सांस्कृतिक कार्यक्रम सहित लोकदोहोरी गीत प्रतिष्ठान चितवनको विशेष प्रस्तुती रहने बताइएको छ ।

रेविका बाल प्रतिष्ठानमा शारीरिक रुपमा अशक्त भएका २५ जना बालबालिकाहरु राखिएको छ । महोत्सवबाट भएको बचतलाई ती बालबालिकाहरुको शिक्षा, दीक्षा तथा औषधि उपचारमा खर्च गरिने थापाले बताइन् । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीहरुका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थापाले बताइन् ।

महोत्सवको सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्राली रहेको छ । महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटिभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>