चितवन विशेष
फेरि सुस्तायो भरतपुर विमानस्थल विस्तारको काम, अझै भएन प्राविधिक अध्ययन

चितवन, कात्तिक १४-
भरतपुर महानगरपालिका र पर्यटन मन्त्रालयबाट विशेष तदारुकता देखाइएको भरतपुर विमानस्थल विस्तारको काम अझै सुरु हुन सकेको छैन । दसैँअगाडि नै नागरिक उड्डयन कार्यालयका प्राविधिकहरुले विमानस्थल विस्तार गर्नेबारे अध्ययन गर्ने भनिए पनि अहिलेसम्म पनि प्राविधिक अध्ययन हुन सकेको छैन । प्राविधिकहरुले अध्ययन गरेर विस्तार गर्न उचित नदेखेसम्म विस्तारको कामले गति लिने सम्भावना नै देखिँदैन । ७२ सिटे जहाज अवतरण गरी रात्रिकालिन उडानसमेत भर्न सक्ने गरी विमानस्थलको विस्तार गर्ने भनिएको छ ।
भरतपुर नागरिक उड्डयन कार्यालयका उपप्रबन्धक केशव लम्सालले विमानस्थल विस्तारको लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राविधिक टोली पठाएर तत्काल अध्ययन गर्ने भनिए पनि प्राविधिक टोली अहिलेसम्म नपठाइएको जानकारी दिए । उनले भने, ‘प्राविधिकले अध्ययन गरेर रिपोर्ट नदिएसम्म विस्तारको काम अगाडि बढ्न सक्दैन ।’ उपप्रवन्धक लम्सालले छठपछि प्राविधिकहरु आएर अध्ययन सुरु गर्ने आशा व्यक्त गरे । उनले प्राविधिकहरुले अध्ययन गरेपछि दोहोरो रनवेसहित रात्रिकालिन उडान भर्न सकिने गरी विमानस्थल बनाउन सकिन्छ वा सकिँदैन यकिन हुने जानकारी दिए ।
भरतपुर महानगरपालिकाले भने अब छिट्टै भरतपुर विमानस्थल विस्तारले गति लिने आशा व्यक्त गरेको छ । महानगरपालिकाले भरतपुर विमानस्थलसँगै रहेको सैनिक व्यारेक र घोडा फार्मलाई सार्न दिएको विकल्पमा नेपाली सेना सकारात्मक रहेको प्रतिक्रिया दिएको छ । भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले सैनिक व्यारेकलाई दियालो बंगला र घोडा फार्मलाई कालिका नगरपालिकाको गैरीबारीमा सार्ने कुरामा नेपाली सेनाले स्वीकृति दिइसकेको जानकारी दिए । प्रवक्ता भण्डारी विस्तारको काम मन्त्रालयस्तरीय निर्णय नै भएकोले छिट्टै काम सुरु हुने आशा व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पर्यटनमन्त्री योगेश भट्टराईसहितका सरोकारवालाहरुको गत भदौं १८ गते भरतपुर महानगरपालिकामा भएको छलफलमा विस्तारका कामलाई विशेष प्राथमिकतामा राख्ने निर्णय भएको थियो । मन्त्री भट्टराईले भरतपुरलाई काठमाडौं बाहिरको वैकल्पिक डोमेस्टिक (आन्तरिक) विमानस्थल बनाउने बताएका थिए । उनले सरकारले भरतपुर विमानस्थललाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै यसलाई रात्रीकालिन बनाउने, रनवे थप्ने, टर्मिनल भवनलाई आधुनिक र व्यवसायिक बनाइने दाबी गरेका थिए ।
६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । यसलाई विस्तार गरी कम्तीमा पनि एक हजार ५०० मिटर बनाउनुपर्ने आवश्यकता रहेको छ । भरतपुरमा वुद्ध, यति र सिम्रिक एयरलाइन्सले उडान गर्छन् । विमान कम्पनीहरूले भरतपुर–काठमाडौं दैनिक ८ जहाज उडान गर्दै आएका छन् । बुद्ध र यतिले एयरले पोखरा–भरतपुर एक/एक उडान गर्छन् । विमानस्थलबाट दैनिक ७०० यात्रुले सेवा लिँदै आएका छन् ।
तराईको लुक्ला भरतपुर विमानस्थल
भरतपुर विमानस्थलमा विमान अवतरण गराउन निकै जोखिम रहेको विमान चालकहरुले बताउँदै आएका छन् । विमानस्थल साँघुरो हुँदा अवतरण गर्दा पाइलटले विमानलाई सिधैं रनवेमा नै एप्रोच गर्नुपर्ने बाध्यता छ । विमानस्थल वरिपरीको भौतिक संरचना हटाएर रनवे बढाई विमानस्थल विस्तार गर्न नसके मौंसम खराब भएको अवस्थामा विमान अवतरण गर्न कठिन हुने विमानस्थलका प्राविधिकहरुको ठहर छ ।
९० प्रतिशत विमानहरु पूर्वी दक्षिणबाट अवतरण गर्ने र सोही दिशाबाट उडान गर्ने गर्छन् । विमानस्थलको दुवै क्षेत्रमा अवरोध छन् । तत्कालिन विमानस्थलका प्रमुख वच्चुराम श्रेष्ठको संयोजकत्वमा बनेको एक समितिले २०७१ जेठ ११ मा तयार पारेको प्रतिवदेनमा विमानस्थल वरपर २५७ घर मापदण्ड विपरित बनेको उल्लेख थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा ७ को उपदफा १ र २ विपरित घर बनेकाले तत्काल हटाउन सुझाव दिइएको छ ।
२०६६ /२०६७ मा यहाँमा धेरै घर मापदण्ड विपरित बनेका थिए । यस्ता घरहरुको उचित व्यवस्थापनको योजना महानगरपालिकासँग छैन । महानगरपालिकाका प्रवक्ता भण्डारीले विमानस्थल वरिपरी बनेका मापदण्ड विपरितका भौतिक संरचनाहरु हटाउने काम सुरु नै नभएको बताए । उनले भने, ‘विमानस्थल वरिपरीका विद्युत्का तारहरु भने अन्डरग्राउण्ड गरिएको छ ।’ भरतपुर महानगरपालिकाले विमानस्थल वरपर अवरोध गर्ने संरचना हटाउने र विस्तारको काम सँगै प्याकेजमा गरिने बताउँदै आए पनि ती आधारभूत काम आजसम्म सुरु नै नभएकोले विमानस्थल विस्तारले गति लिने तत्काल सम्भावना देखिँदैन ।
गत वर्ष माघ १९ गते तत्कालिन पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी भरतपुर विमानस्थल झर्दा उनले निकै डर लागेको बताएका थिए । उनी सवार विमान एकैपटकमा अवतरण गर्न नसकेर एक चक्कर घुमाएर मात्रै ल्याण्ड गरिएको थियो । मन्त्री अधिकारी आफैले यस्तो अनुभूति गरेपछि उनले विमानस्थल विस्तारको योजना बनाएका थिए । विमानस्थलको दक्षिणपूर्व तर्फका अवरोध हटाउन भरतपुर महानगरपालिकालाई निर्देशन दिए । चितवनबाट फर्किए लगत्तै तेस्रो दिन उनले नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशकसहितको प्राविधिक टोली बनाएर विमानस्थलको थप भौतिक सुधारको योजना बनाउन लगाए । तर, दुर्भाग्य फागुन १५ गते मन्त्री अधिकारी नै हेलिकोप्टर दुर्घटनामा परे ।
























