चितवन विशेष
पूर्व क्रिकेटर क्षेत्री चितवनमा सम्मानित

चितवन, कार्तिक ९–
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान लेखबहादुर (एलबी) क्षेत्री भरतपुरमा सम्मानित भएका छन् । नेपाल क्रिकेट सपोर्टर्स सोसाइटी चितवन शाखाले शनिबार एक कार्यक्रमकाबीच क्षेत्रीलाई सम्मान गरेको हो ।
सोसाइटीका अध्यक्ष दिनेश नाइसा र नेपाल खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोदबाबु रिजालले उनलाई खादा र सम्मानपत्र प्रदान गरे ।
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन र आईसीसीको निलम्बनबाट मुक्त गर्न गरेको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको सोसाइटीका अध्यक्ष नाइसाले जानकारी दिए । क्षेत्री नेपाल क्रिकेट संघको संक्रमणकाल अन्त्य गर्न आईसीसीद्वारा गठित स्वतन्त्र छानबिन समितिका सदस्य थिए । क्रिकेट संघको चुनाव गरी निलम्बन फुकुवा गर्न उनले विशेष भूमिका निर्वाह गरेका थिए ।
सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट करियर सुरु गर्दा क्षेत्री टिमका महत्वपूर्ण सदस्य थिए । पछि उनलाई सन् १९९८ मा राष्ट्रिय टिमको कप्तान बनाइयो । यी सन्दर्भहरु समेटेर उनले कप्तान १९९८ नामक किताब पनि लेखेका छन् । सोही किताब कार्यक्रममा सोसाइटीका अध्यक्ष नाइसालाई क्षेत्रीले हस्तान्तरण गरे ।
चितवनमा ल्याएर सम्मान गर्न पाउँदा सिंगो नेपाली क्रिकेटलाई सम्मान गरेको जस्तै महसुस भएको सोसाइटीका संस्थापक सञ्जय प्रसन्न धरेलले बताए ।
सम्मान ग्रहणपछि प्रमुख अतिथि क्षेत्रीले आफू सधैं नेपाली क्रिकेटको प्रगतिको पक्षमा रहेको भन्दै स्वतन्त्र र निष्पक्ष काम गर्दा पाएको सम्मानले गर्व महसुस भएको बताए । उनले नेपाल क्रिकेट संघको नयाँ समितिप्रति आशा व्यक्त गरे । “निश्चित समय अवसर दिनुपर्छ”, उनले भने, “उहाँहरुले नयाँ भिजन ल्याउनुहोला, काम गर्नुहोला, हेरौं ।”
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले पदबाट दिएको राजीनामालाई उनले ‘स्वाभाविक’ भने । “यद्यपि उनको (पारसको) नेतृत्व नेपाली क्रिकेटले केही वर्ष खोजेको छ”, उनले भने, “तर, नयाँ व्यवस्थापन आएको बेला उनले लिएको यो निर्णय स्वाभाविक छ, उनको ठाउँमा म भएको भए पनि यही निर्णय लिन्थें ।”























