चितवन विशेष
‘महिलाका समाचार लेख्दा संवेदनशिलता आवश्यक ‘

चितवन, कात्तिक ६-
महिलाका विषयमा समाचार लेख्दा पत्रकारहरु संवेदनशिल बन्नुपर्ने भरतपुरमा भएको अन्र्तक्रियामा औल्याइएको छ ।
‘आप्रवासन र महिलाका सवालसम्बन्धी सन्तुलित समाचार सम्प्रेषण’ विषयमा आज भरतपुरमा भएको एक दिने अन्तक्र्रिया कार्यक्रममा सो औल्याइएको हो । कार्यक्रमलाई पौरखी नेपाल, अन्तर्राष्ट्रिय श्रम संगठन, नेपाल पत्रकार महासंघ र नेपाल सरकारले सहकार्य गरेका थिए । कार्यक्रममा पौरखी नेपालकी पूर्वअध्यक्ष मन्जु गुरुङले महिला विषयमा समाचार लेख्दा संवेदनशील बन्नुपर्ने बताइन् । वैदेशिक रोजगारमा गएका पुरुषहरुका श्रीमतीहरुप्रति मिडियाले नराम्रो रुपबाट चित्रण गर्दा यसले महिलालाई नराम्रो असर परिरहेको उनले बताइन् । उनले मिडियाले समस्या मात्रै नभएर वैदेशिक रोजगारीमा आइपर्ने समस्याका समाधान बारेमा समाचार लेख्नुपर्ने बताइन् ।
कार्यक्रममा जिसस प्रमुख कृष्णकुमार डल्लाकोटीले वैदेशिक रोजगारीको विकल्पका रुपमा देशमा नै केही गर्न सकिने बताए । कार्यक्रममा यस्तै वरिष्ठ पत्रकार कुमार यात्रुले वैदेशिक रोजगारी सम्बन्धी नीति, नियमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमको सहजीकरण गरेका थिए । यात्रुले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन पत्रकारको हात महत्वपूर्ण हुने भएकाले सो सम्बन्धी सही सूचना र गलत भएमा सूसुचित गर्नुपर्ने बताए । कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडालगायत करिब १५ जना पत्रकारको उपस्थिति रहेको थियो ।























