चितवन विशेष
भरतपुर पहिलो सडक मानवमुक्त मुक्त महानगर बन्दै,कात्तिक ९ गते घोषणाको तयारी

चितवन,कात्तिक ६-
मानवसेवा आश्रमको पहलमा स्थानीय प्रशासन, भरतपुर महानगरपालिका, प्रहरीलगायतको सहकार्यमा चितवनको भरतपुरलाई पहिलो सहयोगापेक्षी सडकमानवमुक्त महानगर बनाउने अभियान जारी छ । यही कात्तिक ९ गते उक्त घोषणाको तयारी गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । त्यसको पूर्वतयारीस्वरुप असोज २७ बाट रात्रि सडक अध्ययन र उद्धार अभियान जारी छ । सडकमा भेटिएका १३१ मध्य आश्रममै राखेर संरक्षण दिनुपर्ने छ जना मात्रै छन् । शारीरिक अशक्त र जागीर नपाएर सडकमा आएको भन्नेहरु १५ जना छन् भने अरु पेशेबर मगन्ते फेला परेका छन् । हरेक दिन साँझ ७ बजेदेखि रातको १२ बजेसम्म अभियान चल्दै आएको छ ।
मुलुकका वास्तविक सहयोगापेक्षीलाई संरक्षणमा अब ठूलो समस्या छैन । अरु पेशेबर मगन्ते समुहको व्यवस्थापन अहिलेको ठूलो चुनौती बन्न पुगेको अभियानकर्मी सुमन बर्तौलाको भनाइ छ । उहाँले सरकारको पूर्ण अभिभावकत्व रहने हो भने दुई वर्षभित्र नेपाललाई बेसहारा सहयोगापेक्षी सडकमानवमुक्त घोषणा गर्न सकिने बताउनुभयो ।
पछिल्लो सात वर्षको अवधिमा विभिन्न १४ जिल्लामा १६ शाखा स्थापना गरेर सेवा दिँदै आएको आश्रमले दुई हजारलाई उद्धार गरेकोमा ६०० लाई परिवारमा पुनःमिलन गराइएको र ८०० जना हाल संरक्षणमै रहेका जनाएको छ । रासस