चितवन विशेष
पुष्प व्यवसायको हब बन्दै चितवनः भरतपुरमा युवाहरुको फूल खेती

निशा श्रेष्ठ,
चितवन,कात्तिक ६ –
तिहार र फूल एक अर्काका परिपूरक नै हुन् । त्यसैले पनि तिहारमा फूलको माग अत्यधिक नै हुन्छ । नेपाली बजारले मात्रै फूलको मागलाई धान्न नसकेर नेपालमा वार्षिक करोडौँ मूल्यको भारतीय फूल आयात गरिँदै आएको पाइन्छ ।

विदेशी फूलको आयतलाई निरुत्साहित गर्नका लागि चितवनका युवाहरुले हरेक वर्ष फूल खेती गर्दै आइरहेका छन् । सामाजिक काममा सक्रिय बेटर चितवनले भरतपुर बुद्ध चोकदेखि २०० मिटर भित्रको बारीमा फूल खेती गरेपछि अहिले ढकमक्क सयपत्री फूलहरु फुलिरहेको देखिन्छ । करिब चार वर्षअघिबाट हरेक मौसमलाई हुने गरी व्यवसायिकरुपमा फूल खेती गर्दै आइरहेको संस्थाले यस वर्ष पनि ६ कठ्ठा जग्गा भाडामा लिएर फूल खेती लगाएको छ ।

करिब ४० देखि ५० हजार लगानीमा यसपटक फूल खेती गरेको र करिब डेढ लाख बराबरको फूल बेच्ने आकलन रहेको संस्थाका अध्यक्ष सागर कार्कीले जानकारी दिए । उनले आफूहरुले मालीदाई नामक एग्रो इनिभेसन प्रालि दर्ता गरेर फूल खेती गर्दै आइरहेको बताए । यद्यपि फूलसँगै बेर्ना पनि आफँै उत्पादन गर्दै आइरहेको संस्थाले बेर्ना मात्रै ३५ हजार रुपैयाँ बराबर बेचेको अध्यक्ष कार्कीले जानकारी दिए । तीन रुपैयाँको लगानीमा ७० रुपैयाँ बराबरको मुनाफा निकाल्न सकिने उनको दाबी छ ।

कार्कीले भने, ‘हामीहरु भरतपुर महानगरका कार्यक्रममा प्लाष्टिकजन्य खादा र फूलहरु प्रयोग गर्नु हुँदैन भन्ने अभियानमा लागिरहेको बेला त्यसको वैकल्पिकको रुपमा अध्ययन गर्दै जाँदा फूल खेती सुरु गरेका हाँै ।’ उनले थपे, ‘सुरुमा करिब ७०० रुपैयाँमा फूल खेती सुरु गर्दा १२ हजार बराबरको फूल बेचेका हाँै । फूलको माग राम्रो रहेको थाहा पाएपछि निरन्तररुपमा फूल खेती गरिरहेका छौँ ।’ तिहार अगाबै करिब तीन महिनादेखि फूल बेच्दै आइरहेको अध्यक्ष कार्कीले बताए ।
उनीहरुले तिहारको बेला आफैँ माला बनाएर बेच्नुको साथै घरघरमै निःशुल्क डेलिभरी गरिने पनि बताए । यसको साथै एउटा माला ८० रुपैयाँदेखि प्रतिकेजी फूल ५०० सम्ममा बिक्री हुँदै आइरहेको उनले जानकारी दिए ।

चितवनमा तिहारमा मात्रै नभएर विवाह, धार्मिक कार्यक्रम तथा सार्वजनिक कार्यक्रममा पनि फूलको माग राम्रो रहेको छ । व्यवसायिकरुपमा फूल खेती गर्दा मुनाफा पनि राम्रो हुने र भारतीय फूल आयतमा निरुत्साहित गर्न पनि सकिने भएकोले युवाहरुले फूल खेती गर्दा राम्रो हुने उनी बताउँछन् । चितवनमा तिहारको समयमा माग अनुसार ६० हजार माला बिक्री हुँदै आइरहेको फलोरी कल्चर एशोसियनका अध्यक्ष प्रकाश पन्तले जानकारी दिए । व्यवसायिकरुपमा १५ देखि २० जनाले व्यवसायिक सयपत्री फूल खेती गरेकोमा ९० प्रतिशतभन्दा बढी माग जिल्लाले नै धान्ने बताए । उनका अनुसार तिहारको समयमा चितवनमा ४० देखि ५० लाखको बिक्री हुने बताए । युवाहरु यसैगरी उत्पादनमूलक कार्यमा जुट्दै गए चितवन जिल्लाले देशलाई नै फूल आयातमा आत्मनिर्भर बन्न सहयोग गर्ने देखिन्छ ।
























