चितवन विशेष
नेपाली नारी समाज पोर्तुगलले ब्युटीपार्लर तालिम दिने

पुनम गौतम
लिस्बन, कात्तिक ५-
नेपाली नारी समाज पोर्तुगलले नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दिपावली, नेपाल संबत् ११४०, छठको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् नारी भेला कार्यक्रम गरेको छ ।
पोर्तुगलको राजधानी लिस्बनस्थित आन्जुसमा भएको कार्यक्रममा पोर्तुगलमा बसोबास गर्ने नेपाली नारीहरुलाई परेका समस्या र समाधानका विषयमा छलफलको लागि राखिएको बृहत् भेलामा उपस्थित दिदीबहिनीहरुले आ–आफ्नो समस्या राखेका थिए । कार्यक्रममा उपस्थित भएर समस्या राख्ने सहभागीको समस्या समाधान गर्न सदैब लागि पर्ने समाजकी अध्यक्ष जयकला राईले विश्वास दिलाइन् । विभिन्न क्षेत्र र संस्थामा आवद्ध महिलाको उपस्थिति रहेको कार्यक्रममा महिलाहरुले स्वदेशमा जस्तै विदेशमा पनि महिलाद्वारा नै महिलाको खुट्टा तान्ने प्रवृति हाबी रहेको बताएका थिए ।

विदेशमा काम गरेर रहेको समय राम्ररी सदुपयोग गर्न आग्रह गर्दै उनीहरुले नेपाली समुदायमा अझै पनि महिलाहरु पछाडि रहेको बताएका छन् । महिलाहरुको क्षमता अभिवृद्धिका लागि लामो समयदेखि विभिन्न सिपमूलक कार्यक्रमहरु गर्दै आएको समाजले बिगतका वर्षहरुमा जस्तै यो वर्ष पनि २ हप्ते ब्युटीपार्लर तालिम दिने जनाएको छ । पार्लर महिलाहरुको लागि सजिलो र राम्रो कामको अवसर भएको र आफूले आर्जन गरेको सीप जहाँ पुगे पनि कामलाग्ने भएको हँुदा यसवर्ष पनि ब्युटीपार्लर सम्बन्धी तालिम दिइने समाजकी संस्थापक अध्यक्ष सीता बरालले जानकारी दिइन् ।
आन्जुसमा रहेको कान्छी फेशन एण्ड व्युटीको सहकार्यमा तालिम दिइने समाजले जनाएको छ । तालिममा नेल आर्टसम्बन्धी विशेष कोर्ष सहित प्याकेजमा प्रशिक्षण दिइने कान्छी फेशन एण्ड व्युटिकी प्रोप्राइटर लक्ष्मी परियारले जानकारी दिइन् । नेपाली नारी समाज पोर्तुगलकी अध्यक्ष जयकला राईको अध्यक्षतामा भएको कार्यक्रम कार्यवहाक महासचिव पुनम गौतमले सञ्चालन गरेकी थिइन् । कार्यक्रम उपाध्यक्ष मीनामाया खरेलले स्वागत मन्तव्य राखेकी थिइन् ।























