चितवन विशेष

चितवनका अस्पताल तोडफोडमा राजनीतिक संरक्षणको गिरोह सक्रिय

Banner

चितवन, कात्तिक ४-

चितवनका चिकित्सकहरुले चितवनका अस्पतालहरु तोडफोडमा एउटा गिरोह नै लाग्ने गरेको बताएका छन् । नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा कृष्ण पौडेल र संघ चितवनका सचिव डा भोजराज अधिकारीले चितवन मेडिकल कलेजमा आइतबार भएको तोडफोडको घटनाप्रति नारायणी अनलाइनलाई प्रतिक्रिया दिँदै यस्तो विचार राखेका हुन् । डा पौडेलले एउटै मानिसले सधै ढुंगा हान्ने फोर्ने काममा संलग्न भएकोले गिरोह नै संलग्न हुने गरेको जानकारी दिए । उनले भने, ‘ मेडिकल काउन्सिल जस्तो निकाय हुँदाहुँदै र कानुनी प्रक्रियामा डाक्टरप्रति शंका लागे जाहेरी दिने प्रक्रिया हुँदाहुँदै तोडफोडमा उत्रनु दण्डहिनता हो ।’

त्यस्तै नेपाल चिकित्सक संघ चितवनका सचिव डा अधिकारीले अस्पतालका आक्रमणकारीलाई राजनीतिक संरक्षण पनि हुने गरेको बताएका छन् । डा अधिकारीले अस्पताल घट्ने विभिन्न घटनालाई चर्काएर पैसा असुल गर्ने गिरोह नै चितवनमा रहेको बताएका छन् । उनले भने, ‘ कतिपय दलको राजनीतिक संरक्षणमा रहेर पैसाको बार्गेनिङ गर्ने, तोडफोड गर्ने काम पनि गरेका छन् । यस्त गिरोहलाई नाङ्गेझार पार्नुपर्छ । ’

स्वास्थ्य संस्थासँग सम्बद्ध राख्ने कानुन स्वास्थ्य संस्था सुरक्षा ऐन र उपभोक्त हकहित अधिकार ऐनको सफल कार्यान्वयन मात्र भए पनि अस्पतालमा देखिने यस्ता समस्या समाधान हुने उनले बताए । राज्यले राम्रो काम गर्ने निजी अस्पताललाई पुरस्कृत र नराम्रा्े काम गर्ने निजी अस्पताललाई दण्डित गर्ने संस्कृतिको विकास गर्नुपर्ने उनले विचार राखे । उनले भने, ‘आईसीयूसम्म गएर तोडफोड गर्नेलाई बचाउन खोज्नु हुँदैन । जेल हाल्नुपर्छ । अस्पतालले बोलाएपछि मात्र प्रहरी अस्पताल पुग्ने नभई घटना घट्नासाथ सो क्षेत्रमा पुग्ने गरी एउटा सुरक्षा समूह नै निर्माण गर्नुपर्छ । ’आइतबार चितवन मेडिकल कलेजमा उपचारको क्रममा विरामीको मृत्यु भएपछि अस्पताल तोडफोड भएको हो । आज चितवनका चिकित्सकले घटनामा संलग्नलाई कारवाही र आफुहरुको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>