चितवन विशेष
चिकित्सक संघको २४ घण्टे अल्टिमेटम, चितवनका सबै अस्पतालको सेवा ठप्प पार्ने चेतावनी

चितवन, कार्तिक ४–
चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई लिएर नेपाल चिकित्सक संघ चितवनले २४ घण्टे अल्टिमेटम दिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनलाई आज (सोमबार) ६ बुँदे माग राखेर ज्ञापन पत्र बुझाउँदै चिकित्सक संघले २४ घण्टा भित्र माग पुरा नभए चितवनका सम्पूर्ण अस्पताल र क्लिनिकहरुको आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएको हो । संघका अध्यक्ष डा.प्रकाश खतिवडाले अशान्ति र असुरक्षाको बीचमा उपचारको काम गर्न नसक्ने भन्दै तत्काल माग पुरा गर्न प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत समक्ष माग गरे ।
चिकित्सक संघले सीएमसीमा तोडफोड भएको घटनालाई लिएर स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन २०६८ तथा नियमावली २०६९ अनुसार घटनाको दोषीहरुलाई तुरुन्त कारवाही हुनुपर्ने, चितवन मेडिकल कलेजमा चिकित्सक, विद्यार्थीहरु माथी भएको सांघातिक आक्रमणमा संलग्नलाई सीसीटिभी फुटेज र भिडियो रेकर्ड समेत हेरि ‘ज्यान मार्ने उद्योग’ अन्तरगत कानुनी कारवाही अगाडि बढाउनुपर्ने, सीएमसीमा भएको क्षतिपुर्ती सम्बन्धीत व्यक्ति÷समूहबाट असुल गराउनुपर्ने, जेल विथआउट बेल अविलम्ब लागू गर्नुपर्ने, स्वास्थ्य संस्थामा सुरक्षाको प्रत्याभुति गराउन जिल्लाका सुरक्षा निकायहरुले सुरक्षा संयन्त्र बनाउनुपर्ने, सामाजिक सञ्जालमा अतिरञ्जित दुष्प्रचार गर्नेहरुलाई साईबर क्राइम अन्तरगत कारवाही गर्न माग गरेको छ ।
सो क्रममा बोल्दै चिकित्सक संघका केन्द्रीय सदस्य डा.अनिल विक्रम कार्कीले चिकित्सकहरुलाई शान्ति सुरक्षाको व्यवस्था नगरिए देशभर सेवा ठेप्प पार्ने चेतावनी दिए । उनले चितवन मेडिकल कलेजमा भएको घटना अपराधिक घटना भएको भन्दै कडा भन्दा कडा कारवाही गर्न चितवन प्रशासन समक्ष माग गरे । उनले भने–‘सीमएसीको घटना सामान्य हुँदै होइन्, यो अपराधिक घटना हो, हाम्रो मागलाई सामान्य रुपमा लिए कुनै पनि बेला मुलुककै स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुनेछौं ।’
डा.कार्कीले उपचार गर्दागर्दै बिरामीको मृत्यु हुँदा होहल्ला गर्ने, तोडफोड गर्नै चिकित्सकलाई हत्या जस्तो व्यवहार गर्ने र पैसाको बार्गेनिङ गर्ने परिपाटी अन्त्य नहुँदा सम्म स्वास्थ्य सेवा दिन कठिन हुन बताए । डा.कार्कीले भने–‘राज्यलाई चिकित्सक चाहिँदैन भने हामी हत्यारा हौं, हामीलाई जेल हाल्नुहोस् ।’

सो क्रममा बोल्दै चितवन मेडिकल कलेजका निर्देशक डा.दयाराम लम्सालले उपचाररत बिरामीको बारेमा परिवारलाई जानकारी गराउँदा गराउँदै पनि घटना हुन पुगेको बताए । उनले घटना हुँदा पनि अस्पतालले सेवा प्रवाह गरेको भन्दै अब सेवा प्रवाहमा समस्या हुँदै गएको बताए । उनले घटनामा संलग्न हुनेहरुलाई कडा कारवाहीको माग गरे ।
यस्तै चिकित्सक संघ चितवनका पूर्व अध्यक्ष डा.कृष्ण पौडेलले सीएमसी घटनामा कुनै गिरोह नै परिचालन भएको हुन सक्ने भन्दै गिरोहको पहिचान गरी कारवाही गर्न माग गरे । उनले घटना हुने वित्तिकै निश्पक्ष छानबिन प्रक्रिया अघि बढ्दा पनि संवेदनशील क्षेत्रमा तोडफोड गर्ने र पैसाको बार्गेनिङ गर्ने कार्यको बिरोध गर्नुपर्ने बताए ।






















