चितवन विशेष
काँग्रेस चितवनद्धारा उम्मेद्वारको नाम अनुमोदन

चितवन, कार्तिक ३–
नेपाली काँग्रेस चितवनले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तहबाट सिफारीस भएका उम्मेद्वारको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।
काँग्रेस चितवनको आज (आइतबार) बसेको नियमित बैठकले भरतपुर महानगरपालिका वडा नम्वर १६ का लागि अमृत हमाल, खैरहनी नगरपालिका वडा नम्वर ४ का लागि देवबहादुर बस्नेत र ५ का लागि प्रतिमा कार्की बस्नेतको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।
काँग्रेस चिवतनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उपनिर्वाचन हुन लागेका वडाहरुमा सक्रिय रुपमा सहभागिता जनाउन कार्यकर्ताहरुलाई आग्रह गरेको सचिव उत्तम जोशीले बताए । बैठकले घोषणापत्र बनाउन, प्रचारप्रसार गर्नका लागि जिल्ला सचिवालयलाई जिम्मेवारी दिएको छ । निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग हुन सक्ने भन्दै चनाखो रहन समेत काँग्रेस चितवनले कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।
स्थानीय तहको निर्वाचनका समयमा भएका वाचाहरु पुरा नभएको भन्दै आम चितवनवासीलाई नेपाली काँग्रेसलाई मतदान गर्न समेत आग्रह गरिएको जोशीले बताए । यस्तै बैठकले मध्यवर्र्ती क्षेत्र व्यवस्थापन समितिको जिम्मेवारी हेर्ने गरी सचिव राजिव न्यौपानेको संयोजकत्वमा ७ सदस्यीय उपसमिति समेत गठन गरेको छ ।