चितवन विशेष

चितवनको केरामा लागेको रोग पत्ता लागेन, किसान चिन्तामा

Banner

नारायणी अनलाइन सम्वाददाता

चितवन, कात्तिक २ –

केरामा नेपाललाई आत्मनिर्भर बनाउने अभियानमा लागेका किसानहरु रोग पत्ता लगाउने प्रयोगशाला नहुँदा चिन्तित बनेका छन् ।

एक वर्षदेखि चितवनमा देखिएको पानामा रोगको रेस पत्ता लगाउने प्रयोगशाला नेपालमा नहुँदा उत्पादन बढाउन समस्या भएको केरा संघ चितवनका निर्वतनमा अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए । उनले नेपालमा केराको विशेषज्ञ नहुँदा केरामा लाग्ने रोगको निदान गर्नसमेत समस्या भएको गुनासो गरे । अहिले चितवनका केरामा पानामा, गवारो, निमाटोडलगायतका रोग देखा परेको छ । विशेषगरी विगतका वर्षदेखि मालभोग जातको केरामा पानामा जातको रोग देखा परेको निवर्तमान अध्यक्ष पन्तले जानकारी दिए । केरामा रोग लाग्दा किसानले उत्पादन बढाउन नसकेको उनले बताए । ‘गवारो, निमाटोडलगायतका रोग औषधिबाट पनि निर्मुल गर्न सकिन्छ । तर, पानामा रोगको औषधिसमेत छैन । त्यसकारण किसानलाई यस रोग निर्मुल गर्न समस्या देखिएको उनले बताए ।

विशेष गरेर चितवनका कालिका नगरपालिकाका १ देखि ८ नम्बर वडा, रत्ननगर, खैरहनी नगरपालिका र चैनपुर क्षेत्रका स्थानमा केरामा रोग लागेका छ । यी क्षेत्रहरुमा २५ देखि ५० प्रतिशतसम्म क्षति पु¥याएको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना केरा जोन चितवनले जानकारी दिएको छ ।

चितवनका केरामा विभिन्न समस्या देखिएपछि केही महिनाअघि नेपाल कृषि अनुसन्धान परिषद् नार्क, राष्ट्रिय फलफूल विकास केन्द्र र बाली संरक्षण प्रयोगशालाका प्रतिनिधि आएर नमुना संकलन गरी लगेका थिए । त्यस नमुनामा पानामा, गवारो, निमाटोडलगायतका रोग पत्ता लागे पनि पानामा रोगको रेस पत्ता नलाग्दा रोग निदान गर्न समस्या परेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वन इकाई चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले जानकारी दिए ।

तत्काल पानामा रोगको उपचार पद्धति नरहेकाले स्थानीय मालभोग जातको विकल्पमा नयाँ जातको केरा प्रयोग गर्न उनले किसानलाई आग्रह गरे । ‘केराको नयाँ बगैचा व्यवस्थापन गर्दा पानामा रोग नलागेको गाना प्रयोग गरी स्वस्थ गानाहरुको प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘रोग लागेको स्थानमा तीन वर्षसम्म अन्य बाली लगाउने हो भने यस्ता रोगहरुको निर्मुल गर्न सक्छौँ ।’ टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएको विरुवा रोप्नुपर्ने भन्दै उनले गोवर मललाई ढुसीबाट उपचार विरुवा रोपेर प्रत्येक खाडलमा राख्नुपर्ने बताए । यसरी केरा खेतीमा असल कृषि अभ्यास अपनाउन सक्ने हो भने, रोगको न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । केरामा लागेको रोग पत्ता लगाउनका लागि नेपालमा प्रयोगशाला नहुँदा काम गर्न समस्या भएको तिमिल्सिनाले बताए ।

चितवनमा वार्षिक ५० हजार मेक्ट्रिक टन उत्पादन हुने गरेको छ । नेपालमा उत्पादन हुने मध्ये चितवनमा १५ प्रतिशत केरा उत्पादन हुने गर्दछ । राष्ट्रिय फलफूल विकास केन्द्रको पछिल्लो तथ्यांकअनुसार नेपालमा १८ हजार १४ हेक्टर क्षेत्रफलमा व्यवसायिकरुपमा केरा खेती भइरहेको छ । दुई लाख ५४ हजार ४०३ मेट्रिक टन केरा उत्पादन भएको अनुमान छ । नेपालमा अझै पनि ६० प्रतिशत केरा विदेशबाट आयात हुने गरेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>