चितवन विशेष
चितवनमा पौडेलद्धारा मराणोपरान्त आँखादान

चितवन, कात्तिक २–
भरतपुर महानगरपालिका–१२ निवासी ८७ वर्षीय नेत्रलाल पौडेलको निधनपछि दुवै आँखा दान गरिएको छ ।
पौडेलको आज निधनपछि परिवारले नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालका प्राविधिकलाई डाकेर आँखा दान गरेका हुन् । पछिल्लो समय आँखा प्रत्यारोपणमा सचेतना जगाउँदै आएको लायन्स क्लब अफ चितवन राइजका सदस्य एवम् पौडेलका ज्वाइ कमल घिमिरेको संयोजनमा उनको आँखा दान गरिएको हो ।
भरतपुर आँखा अस्पतालका सहायक व्यवस्थापक छायाँदेवी श्रेष्ठका अनुसार पौडेलको आँखाको नानीको झिल्ली झिक्नुका साथै त्यहाँ रहेका परिवार, स्टमित्र र छर छिमेकीहरुलाई आँखा दानका बारेमा जानकारी गराइएको थियो । अस्पतालले हाल सम्म ९ जनाको आँखाको झिल्ली निकालेर तिलगंगा अस्पतालमा रहेको नेपाल आँखा बैँकमा पठाइसकेको छ ।
अस्पतालमा विभिन्न व्यक्तिहरुले २८७ जनाको मरणोपरान्त आँखादान फर्म भरेका छन् । तिलगंगावाट आँखाको नानी झिकाएर अस्पतालले ७५ जनामा प्रत्यारोपण गरिसकेको छ । अस्पतालमा भिमराज उषा माया पाठक आँखा बैँकसमेत स्थापना भइसकेको भए पनि आँखा भण्डारण गरेर प्रशोधनको काम भने सुरु भएको छैन ।
आँखा दानका लागि मानिसको मृत्यु भएको ६ देखि ८ घण्टा सम्ममा आँखाको नानीको बाहिरी झिल्ली निकाली सक्नु पर्ने हुन्छ । संघका सभापति कृष्णराज धरेलले देशमा ठूलो संख्यामा आँखा नदेख्नेहरु रहेको भन्दै मृत्युपछि जलेर खेर जाने आँखा दान गर्न सकेमा उनलाई ज्योति दिन सकिने भएकाले यस पुण्यकार्यमा सहभागी भइ दिन सबैमा अनुरोध गरेका छन् ।






















