चितवन विशेष
चितवनमा एकै महिनामा ३४ सवारी दुर्घटना : ९ जनाको मृत्यु, १२२ जना घाइते

चितवन, कात्तिक २–
चितवनमा असोज महिनाभित्र भएको ३४ सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । त्यस्तै घटनामा घाइते हुनेको संख्या १२२ जना रहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले आज प्रेषित गरेको तथ्यांक अनुसार यस अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ११६ जनाबाट एक लाख १६ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
चितवन ट्राफिक प्रहरी कार्यालयले चाडपर्व लक्षित चेक गर्दा असोज महिनाभर निर्धारित भाडादर भन्दा बढी भाडा लिने २५ सवारीलाई कारबाही गरेको छ । त्यस्तै प्रहरीले २८६ जना यात्रुको ३३ हजार ४५० रुपैयाँ भाडा फिर्ता गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । त्यस्नै असोज महिनाभित्र दुई हजार ८५० सवारी कारबाहीमा २१ लाख ६३ हजार रुपैयाँ राजस्व पनि संकलन गरेको छ ।
गत असोज १५ गते इच्छाकामना गाउँपालिका–४ चुम्लिङटारमा बिहान राडरगनको प्रयोग गरी सवारीको गति चेकजाँच गरी तीव्र गतिमा सवारी चलाउने २५ वटा सवारी साधनका चालकलाई नियमानुसार कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
सवारीलाई कारबाही मात्र नभएर ट्राफिक प्रहरी कार्यालय चितवनले असोजमहिनाभर जिल्लामा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि गरेको छ । असोज ५ गते ट्राफिक प्रहरी कार्यालय मुग्लिङको आयोजनामा राजमार्गमा सञ्चालन हुने सवारी साधनका ४० चालकहरुलाई सवारी ऐन, नियम तथा सवारी दुर्घटना न्यूनीकरणमा चालकको भूमिकाको विषयमा प्रशिक्षण दिएको थियो । त्यसैगरी गत असोज ७ गते समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आम जनसमुदायलाई सडक सुरक्षा सम्बन्धमा जानकारी गराई सम्भावित दुर्घटनाबाट हुने जनधनको क्षतिबाट जोगाउने उद्देश्य अनुरुप भरतपुर महानगरपालिका वडा नं २ सँगको सहकार्यमा भरतपुर–२ स्थित रामेश्वर पुस्तकालयको सभाहलमा १०० जनाको उपस्थितिमा एक दिवसिय वडास्तरीय ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको ।
त्यसैगरी नारायणगढ बसपार्क, केन्द्रीय बस टर्मिनल र पुलचोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको थियो । पुलचोकमा गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा २०० जनाको सहभागिता थियो ।
भरतपुर महानगरपालिका वडा नं ९ स्थित केन्द्रीय बस टर्मिनलमा असोज १५ गते लामो दूरीका सवारी चालक तथा सहचालकसँग समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत यात्राको शुभकामनासहित ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा ७० जनाको सहभागिता रहेको थियो ।
भरतपुर महानगरपालिका पुलचोकमा रहेको यात्रु सहायता कक्षमा लामो दूरीका सवारी चालक तथा सहचालकसमेत ६० जनाको उपस्थितिमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत यात्राको शुभकामनासहित चालकलाई माला तथा टिकाले सम्मान गरी ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रम सम्पन्न गरिएको छ । भरतपुरको चौबिसकोठी चोकमा अपरान्ह स्थानीय सामाजिक संस्थाहरु वेग्रुप चितवन, सामथ्र्य नेपाल र सुनौलो समाजका २५ जना अभियन्ताहरुलाई ट्राफिक स्वयंसेवक परिचालन गरी पैदलयात्रुलाई सामुहिकरुपमा जेब्राक्रसबाट बाटो काट्ने र सवारी चालकलाई जेब्राक्रसमा पैदलयात्रुहरुले बाटो काट्दै गरेको अवस्थामा स्टप लाइनमा सवारी रोक्ने अभ्यास गराइएको थियो ।






















