क्रिकेट
वुमन्स च्याम्पियन्स लिगः चितवन राइनोजको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित

चितवन, कार्तिक २–
कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो महिला फ्रेन्चाइज वुमन्स च्याम्पिन्स लिगमा चितवन राईनोजले लगातार तेस्रो जित हात पारेको छ । आज सम्पन्न पहिलो खेलमा पोखरा पल्टनलाई ७ विकेटले पराजित गर्दै चितवन राइनोजले लगातार तेस्रो जित हासिल गरेको हो । पोखराले दिएको १२८ रनको लक्ष्य चितवनले २ ओभर बाँकी छदै ३ विकेट गुमाउँदै पुरा गर्यो ।
चितवनलाई जिताउन ओपनर काजल श्रेष्ठले ५१ रनको अर्धशतकिय पारी खेलिन् । अर्की ओपनर कञ्चन श्रेष्ठले २९ रनको योगदान दिईन् । यी दुईबीचले पहिलो विकेटका लागि ७१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । यस्तै कप्तान इन्दु बर्माले २४ रन बनाइन् भने सुमन खतिवडा ६ रनमा नटआउट रहिन् ।
पोखरा पल्टनका लागि अञ्जलीले चन्दले २ र सुष्मा श्रेष्ठले एक विकेट लिइन् ।
यसअघि पहिले व्याटिङ गरेको पोखरा पल्टनले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १२७ रन जोडेको थियो । उसका लागि कप्तान सीता राना मगरले ६५ रनको अविजित पारी खेलेकी थिइन् । मञ्जु बोगटीले नटआउट २४ रन बनाइन् । चितवनकी कविता गौतमले २ र रेखा रावलले एक विकेट लिइन् । पोखराका दुई खेलाडी रनआउट भएका थिए । आजको खेलमा चितवनकी काजल श्रेष्ठ वुमन अफ दि म्याच भइन् । आजको जितसंगै चितवन ३ खेलमा शतप्रतिशत जित निकाल्दै ६ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।