चितवन विशेष

भरतपुर महानगरको जापानको योगोसिका शहरसँग सहयोग आदानप्रदानको सम्झौंता

Banner

चितवन, असोज ३०-

जापानको योगोसिका सिटी र भरतपुरमहानगरबीच आपसी सहयोग आदनप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

भरतपुर महानगरपालिकामा आज जापानको योगोसिका सिटी र भरतपुरमहानगरबीच सम्झौतामा हस्ताक्षर भएको हो । सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र योकोसुका सहरका मेयर कात्सुआकी कमीजीले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर कार्यक्रममा चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोखरेल, प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्याय, महानगरपालिकाका महाशाखा प्रमुखहरू, जापानी प्रतिनिधिमन्डलका सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र योगोसिका सिटीका मेयर कात्सुआकी कमीजीले सम्झौतापत्र एक आपसमा आदानप्रदान गरेका थिए । जापानी मेयर कात्सुआकी कमीजीले गौतम बुद्धको देशमा आउन पाउँदा अत्यन्तै हर्सित भएको बताए । आफ्नो महानगर र भरतपुर महानगरपालिकाको बीचमा भौगोलिक समानता भएको आफूले महसुस गरेको उनले बताए । आफ्नो सहरमा समुन्द्र पहाड र समथर भूभाग रहेको र औद्योगिक विकाससँगै पर्यटनको क्षेत्रमा अग्रणी रहेको बताउँदै भरतपुरबाट सिकेर आफ्नो सहरमा केही नयाँ अनुसरण गर्न आतुर रहेको उनको भनाइ थियो ।

भरतपुरलाई आफ्नोतर्फबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै आज सम्पन्न दुई पक्षीय सहयोग आदनप्रदानसम्बन्धी सम्झौता कोसेढुंगा हुने बताउँदै यसका आधारमा आगामी दिनमा भगिनी सम्बन्ध कायम गर्ने प्रक्रिया अगाडि बढाउने उनले बताए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जापानको योकोसुका सहरका मेयर कात्सुआकी कमीजी तथा उनीसँग आएका युनोदान आइसाओ, निर्देशक नाइटो काजिया, सुपरीवेक्षक नाकाजिमा नाओकलाई स्वागत गरेकी थिइन् । प्रमुख दाहालले जापानको टिम भरतपुर आउनु हाम्रा लागि अत्यन्त खुसीको खबर भएको बताइन् ।

‘जापान र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध धेरै लामो छ र पछिल्लो समयमा यो थप प्रगाढ हुँदै गइरहेको छ । मित्र राष्ट्र जापान नेपालको एक असल मित्र हो । मित्रराष्ट्र जापानसँग दौत्य सम्बन्ध भए देखिनै जापानले नेपालको आर्थिक, सामाजिक, पूर्वाधार विकासका साथै सांस्कृतिक सम्वद्र्धनको क्षेत्रमा उल्लेख्य र नेपाली जनताको मन छुने सहयोग गरिरहेको छ’ प्रमुख दाहालले भनिन्, ‘जापान सरकारले पछिल्ला दिनमा दक्ष एवम् अर्धदक्ष कामदारहरु लागि उनीहरुलाई सीप विकास र रोजगारीको अवसरसमेत प्रदान गरिरहेको छ ।’

महानगर प्रमुख दाहालले दुई शहरबीच भगिनी सम्बन्ध कायम गर्ने प्रस्तावको हार्दिक स्वागत गर्दै यसलाई छिटै मूर्तरुप दिन कानुनी र प्रक्रियागत तयारी पूरा गरिने प्रतिबद्धता व्यक्त गरिन् । उनले दुई सहरबीच भगिनी सम्बन्धसम्म कायम गर्ने लक्ष्य लिएका बताइन् । उनले भनिन् ‘भरतपुर महानगरपालिका नव निर्माणको प्रक्रियामा छ । भरतपुर महानगरपालिका स्वास्थ्य, शिक्षा, पर्यटन र कृषिको क्षेत्रमा अग्रणी छ ।’

हामी यस महानगरपालिकाको समग्र विकासलाई यहाँहरुको योकोसुका सहरसँग सहकार्य गरेर विकास निर्माण र समृद्धिमा एकले अर्कोसँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छौँँ’ प्रमुख दाहालले भनिन्, ‘विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज हाम्रो महानगरपालिकासँग जोडिएको छ । एक सिंगे विश्व प्रसिद्ध गैँडाको केन्द्र पनि हामीसँगै छ । हामी यसलाई पर्यटनको प्रमुख आकर्षण बनाउन चाहन्छौँ । ’

कार्यक्रममा सांसद कृष्णभक्त पोखरेलले दुई सहरबीच सम्पन्न दुई पक्षीय सहयोग आदान प्रदानसम्बन्धी सम्झौताले भरतपुरको समग्र विकासमा महत्वपूर्ण हुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>